Loading

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबासका दुई गणतन्त्र डोनेत्स्क र लुगान्स्क र क्राइमियाको विषयमा केही निश्चित सम्झौता गर्न आफू तयार रहेको जनाएका छन् ।

रुसी सेनाले सैनिक अभियान दोस्रो सातामा सञ्चालन गरिरहेका बेला जेलेन्स्कीले यस्तो बताएका हुन् ।

एबीसी न्युजका डेभिड मुइरले जेलेन्स्कीलाई क्राइमिया र डोनबासलाई स्वतन्त्र राज्य दिने रुसको मागलाई स्वीकार गर्न तयार हुनुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा उनले यस्तो बताए ।

जेलेन्स्कीले भने “ म संवादका लागि तयार छु । ”

सन् २०१४मा किभमा सत्ता पलट भए लगत्तै युक्रेनबाट डोनेत्स्क र लुगान्स्कले आफूलाई स्वतन्त्र घोषणा गरेका थिए । क्राइमियाले युक्रेन छोडी रुसमा सामेल हुने सोही वर्ष मतदान गरेको थियो ।

जेलेन्स्कीले यी दुई गणतन्त्रलाई झूठो गणतन्त्र भनेका थिए । तिनलाई अस्थायीरूपमा अधिग्रहित भूभाग भनेका थिए ।
उनले भने “ तर हामी यसबारे छलफल गर्न सक्छौं र यी अधिग्रहित भूभागको बारेमा कसरी सम्झौता गर्न सक्छौं यसबारे छलफल गर्न सक्छौं । मेरा लागि महत्वपूर्ण कुरो युक्रेनमा बस्ने जनताले के चाहन्छन त्यो हो । सामान्यरूपमा तिनलाई स्वतन्त्र मान्यता दिनु भन्ने सवाल धेरै कठिन सवाल हो । यो अर्को अल्टिमेटम हो । हामी अल्टिमेटमहरूका लागि तयार छैनौं ।”

जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष सम्झौता गर्न तयार छु भने । रुस र युक्रेनका बीच बेलारुसमा तीन चरणको शान्ति वार्ता भइसकेको छ ।