Loading

टीकापुर /टीकापुर नगरपालिकाको आर्थिक सहयोग र शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहीबार टीकापुरमा भएको ‘वातावरण संरक्षणमा नागरिकको भूमिका’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कर्णाली माध्यमिक  विद्यालयकी छात्रा कृष्टिना पोखरेल  प्रथम भएकी छन् ।

यसैगरी प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय वनगाउँकी छात्रा नेहा वि क. दोस्रो र खड्ग स्मृति माध्यमिक विद्यालय टिकापुरकी छात्रा दिपिका भाट तेस्रो भएकी छन् ।

टिकापुर नगरपालिकाभित्रका आठवटा विद्यालय मात्र सहभागी भएको उक्त प्रतियोगितामा वीरेन्द्र विद्या मन्दिर माविका छात्र हिमाल घर्तीले सान्त्वना पुरस्कार पाएका छन्।

कर्णाली मावि टीकापुरमा सञ्चालन भएको उक्त प्रतियोगिताकाे निर्णायकमा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश बहादुर अवस्थी, वीरेन्द्र विद्यामन्दिर क्याम्पसका उपप्राध्यापक द्वारिकाप्रसाद भण्डारी र त्रिपथ विद्या निकेतन टीकापुरका प्रिन्सिपल मानबहादुर थापा  रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले  टीकापुर नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण नागरिकहरुले पनि वातावरण संरक्षणमा सहयोग गर्नुपर्ने बताए ।

सो अवसरमा नगर प्रमुख थारुले नगरपालिकाले घोषणा गरेको नगर सरसफाई अभियान अन्तरगत आगामी दिनहरूमा काम गरी अगाडि बढ्ने समेत बताए । उनले भावि योजना अनुरुप नगर परिसरमा कालो प्लास्टिक समेत नियन्त्रण गर्ने बताए  ।

टिकापुर नगर कार्यपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बलिराम चौधरीले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रममा सम्पूर्ण विद्यालयका प्रधानाध्यापकको तर्फबाट कर्णाली माध्यमिक विद्यालय टिकापुरका प्रधानाध्यापक धर्मराज शर्मा,  वीरेन्द्र विद्यामन्दिर क्याम्पसका स्ववियू सभापति नवीन अधिकारी, पत्रकार भीम बिक लगायतले मन्तव्य राखेका थिए ।

शुभारम्भ अनलाइन टेलिभिजनका प्रधान सम्पादक जनकराज तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रबन्ध निर्देशक यज्ञराज सिम्खाडाले गरेका थिए ।