Loading

काठमाडौँ । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले ५ जना एसएसपीलाई डिआइजी (प्रहरी नायब महानिरीक्षक)मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिकी सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिँहद्वारा हस्ताक्षरितसूचना प्रकाशित गरिएको हो ।
समितिले प्रकाशन गरेको सूचीअनुसार वरिष्ठ प्रहरी उपरीक्षक(एसएस्पी)हरु ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवा सिफारिसमा परेका हुन् । उक्त सूचना अनुसार बढुवा सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको जनाइएको छ ।

कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागुऔषध नियन्त्रण ब्युरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन् । पाँचै जना २०५४ साल चैत १८ गते इन्स्पेक्टरमा भर्ना भएका थिए ।