![]()
बटनपुर/ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ टीकापुर नगरस्तरीय अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०५१ शुक्रबारदेखि शुरु भएको छ ।
टीकापुर नगरपालिका ९ स्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय झुङ्गाको आयोजनामा बटनपुरमा शुरु भएको उक्त प्रतियोगिताको टीकापुर नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीले उद्घाटन गरेका हुन् ।
बिगतमा साविकका नारायणपुर र धनसिंहपुर गाविस र टिकापुर नगरपालिकामा छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन हुँदै आइरहेकोमा पछिल्लो समयमा पनि अलग-अलग आयोजना हुँदै आइरहेको हो ।
बटनपुरमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा विद्यालयलाई सहयोग गरेवापत पुर्व अध्यक्ष समेत रहेका समाजसेवी गोविन्द श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा अतिथिहरु टोपबहादुर केसी, त्रिभुवन माविका प्रधानाध्यापक रविन्द्र कठायत, कालिका इंग्लिश बोर्डिङ स्कुलका अध्यक्ष नृपबहादुर कडायत, समाजसेवी गोविन्द श्रेष्ठ, विशिष्ट अतिथिहरु नारायणपुर गाविस तथा टिकापुर विकास समितिका पूर्व अध्यक्ष फकिर सिँह कडायत, टिकापुर नगरपालिका वडा नं ९ का अध्यक्ष लौटन चौधरी, टिकापुर नगरपालिका वडा नं ८ का अध्यक्ष दिर्घबहादुर ठकुल्ला, टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम विद्यालयका अध्यक्ष कृष्णगोपाल चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालन नयन सिंह साउँदले गरेका थिए ।
प्रतियोगितामा स्थानीय १७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रमुख भीम बहादुर ऐरले शुक्रबार दुईवटा प्रतिस्पर्धा मात्र गरिएको बताए।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले सटपुट फ्याँकेका थिए । उद्घाटन सत्रपछि भएको सटपुट प्रतियोगितामा छात्रातर्फ जनता मावि सोनाफाँटाकी शान्ति थापा प्रथम, कर्णाली मावि सत्तिकी अङ्किता चौधरी द्वितीय र कालिका इंग्लिश बोर्डिङ स्कुलकी समिक्षा थापा तृतीय भएका छन्।
यसैगरी छात्रतर्फ कर्णाली मावि सत्ताका विनोद साउँद प्रथम, राष्ट्रिय मावि बेलुवाका अविनाश चौधरी द्वितीय र राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सुर्यपुरका विवेक बि.क. तृतीय भएका छन्।
