Loading

काठमाडौं । झ्याप्प झ्याप्प बत्ती जाने समस्या बढेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सेवा चुस्त रुपमा प्रवाह गर्न निर्देशन दिएका छन । घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्जुअल बैठक राखी कार्यालयले बेहोरिरहेका समस्याबारे गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न निर्देशन दिएका हुन ।

‘छिनछिनमा वत्ति जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ’ घिसिङले निर्देशन दिंदै बैठकमा भने । संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनु पर्नेमा घिसिङको जोड थियो । ‘चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ,’ उनले भने ।

घिसिङले कसैको दबाब र प्रवावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले भने, ‘विद्युतको माग बढाउन ग्राहकले माग्नसाथ थ्री फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरुको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरुको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’

खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरुको लिलामी, ट्रान्सफर्मरहरुको मर्मत समयमै आफ्नै वर्कसपमा गरिने भएको छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइकासाथ पालना गरिने घिसिङको निर्देशन छ ।
कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।

सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक वत्ति जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तार हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिए । उनले रुग्ण बनेका आयोजनाको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गरएका थिए ।