Loading

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन् ।

विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन । आजको बैठक एमालेले भने बहिष्कार गरेको छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेश सभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए । प्रदेश सभामा रहेका कुल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुल सङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराउनुभयो । ‘हुन्न’ भन्ने पक्षमा शून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो ।

तर आजको दोस्रो बैठक र तेस्रो बैठक एमालेले बहिष्कार गरेको छ । तेस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे । उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरोध गर्न नहुने बताए ।