![]()
गोरखा : गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले तत्काल गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन्। तर प्रधानमन्त्री केपी ओलीले जिस्क्याएमा बहुमत पुर्याएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन्।
गृहजिल्ला गोरखाका पत्रकारसंगको जिज्ञासामा मन्त्री थापाले प्रदेश नं. १ र ३ मा झैँ गण्डकी प्रदेशमा अहिल्यै अविश्वासको प्रस्ताव लैजाने बारे छलफल सुरु नभएको बताए। ‘एक नम्बर प्रदेश, बाग्मती प्रदेशमा जस्तै अविश्वासको प्रस्ताव लैजाने अहिल्यै हाम्रो योजना छैन। के गर्ने भन्ने छलफलमै छौं’, नेकपा(प्रचण्ड, माधव समूह) का गोरखा जिल्ला अध्यक्षसमेत रहेका मन्त्री थापाले भने, ‘अहिले फुटको अवस्थालाई हेर्दा प्रदेश सरकार गठन गर्ने अवस्था आयो भने हामी बहुमतमा हुनेछौँ। एक नम्बर प्रदेशमा झैँ यहाँ पनि हस्ताक्षेप हुन खोज्छ भने यहाँ पनि हामी बहुमतमा छौं। आइ लागिँदैन। आइलागेमा जाइलाग्न पनि पछि परिदैँन।’
वर्तमान प्रतिगागी, पश्चगामी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिसकेपछि अहिले प्रदेश संसद पनि भंग गर्छु भनेर ‘थ्रेट’ गरिरहेको उनले बताए। प्रदेश भनेको संविधानको मेरुदण्ड भएकाले यसलाई चलाए सह्य नहुने उनले बताए।
‘असंवैधानिक कदम चाल्न कत्ति पनि नहिच्किचाउने ओलीले प्रदेश संसद, प्रदेश सरकार पनि भंग गर्न बेला लगाउँदैनन् भन्ने हामीले अनुमान गरिरहेका छौं’, उनले भने, ‘प्रदेश संसद नै नरहे हामी प्रदेश सरकारको के अर्थ रह्यो र ? त्यसैले हामी त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहेका छौं।’
