Loading

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। केपी ओलीको सरकारले प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।

यसका लागि शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधनका लागि जाँदैछन्। शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले जानकारी दिए।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगिसकेका छन्। उनले क्षेत्र नम्बर १ को दमौली बजारमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव चिरञ्जीवी पौडेलले जानकारी दिए।

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको कोटेश्वरमा सम्बोधन गर्दैछन्। नेता प्रकाशमान सिंहले नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता गगन थापा नेपालगञ्ज पुग्दैछन्।

मीनेन्द्र रिजाल प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला पुगेका छन्। शीर्ष नेतादेखि अधिकांश केन्द्रीय सदस्यहरु विरोध सभालाई सम्बोधन गर्न आफ्नो निर्वाचन क्षेत्रमा खटिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।