Loading

विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत वितरण

भद्रपुर : तत्कालीन राजा महेन्द्रले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पुगेपछि उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्। पूर्वयुवराज्ञी हिमानी र नाति हृदयेन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका २ स्थित गौरीशङ्कर गाउँमा शनिबार दिउँसो पुगेका हुन्। 

हिमानी शाहद्वारा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न उनीहरू पुगेका हुन्। हिमानी कोषका तर्फबाट सिंहदेवी आधारभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोसाक ज्याकेट र पोसिलो खानेकुरा उपलब्ध गराइएको थियो।

यसैगरी ३० जना विपन्न तथा अपांगता भएका ज्येष्ठ नागरिकलाई स्लिपिङ ब्याग वितरण गरेका थिए। उनीहरूलाई हिमानी र हृदयेन्द्रले सामग्री वितरण गरेका हुन्। महिला आदर्श सेवा समितिका अध्यक्ष राधा कार्की र झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले सो कार्यक्रमको सहजीकरण गरेका थिए। 

तत्कालीन राजा महेन्द्रले भारतलगायत अन्य देशमा रोजगारीमा गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियानअन्तर्गत २०२४ पुर्नवास कम्पनीमार्फत पृथ्वीनगर क्षेत्रमा जंगल फडानी गरी त्यहाँ बस्ती बसाएका हुन्। उनी हाल दुई सातादेखि सपरिवार झापा भ्रमणमा छन्।