Loading

टीकापुर । काठमाण्डौमा जारी भइरहेको साफ माहिला च्याम्पियनसिप–२०२४ प्रतियोगितामा घरेलु टोली नेपाल श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपाल अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार सम्पन्न भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४ गोलको अग्रता लिएको थियो । नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गर्दै पहिलो हाफमा नै अग्रता दिलाएका थिए।
खेलको आठौँ मिनेटमा गोल गर्दै सविताले नेपाललाई अग्रता दिलाइन् भने ११औँ मिनेटमा सावित्राले गोल गर्दै २–० को अग्रता दिलाएकी थिइन् । यस्तै खेलको १३औँ मिनेटमा र ३६औँ मिनेटमा थप दुईगोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

यसैगरी खेलको दोस्रो हाफमा पनि नेपालका तर्फबाट अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरेका थिए । खेलमा अमिशाले ४७औँ मिनेटमा र रश्मीले ९४औँ मिनेटमा गोल गरेर टिमलाई ६–० को स्थिितमा पुर्याए।

यस्तै आइतबार नै हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग समूह ‘बी’ को उपविजेता भुटान भिडनेछन् । विजेता टोली फाइनलमा पुग्नेछ ।