Loading

टिकापुर/टीकापुर नगरपालिकाका आयोजनामा आज शुक्रबार माघि मिलन तथा कैलालीका स्थानीय तहहरु वीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कैलालीमा रहेका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको आतिथ्यता रहेको यस कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय रुपा सोसी थारुले गरेकी थिइन् । उनले जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका प्रतिनिधिहरुको कुरा सुन्दा आफूले धेरै अनुभव लिएको बताइन् ।

राज्यका निम्ति विधयेक बनाउने थलोमा रहेर नीति निर्माणका विषयमा आफू केन्द्रित हुनु परेकाले पनि जनताका समस्याहरु बुझ्न र समाधानका उपायहरु पहिल्याउन कम समय मिल्ने गरेको उनले बताइन् । उनले भनिन् तपाईहरुमा म र मेरो भन्ने वा मैले यस्तो गर्छु भन्न सक्ने अवस्था रहेछ तर साँसदहरुमा भने हामी र हाम्रो भन्ने अवस्था नै हुने भएकोले हरेक कुरामा सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताइन् ।

स्थानीय तहले गरेका कामहरु हाम्रा(साँसद)का लागि रिसर्च हुने बताउँदै प्रत्येक जनतासँग जोडिने तह स्थानीय तह भएको बताइन् । त्यसैले स्थानीय सरकार पाँच् वर्षका लागि स्थायी हुने तर संघीय वा प्रदेश सरकार बहुमत नभए पाँच वर्ष चल्न नसक्ने र अस्थायी प्रकृतिको हुने भएकाले पनि काम कारवाही चुस्त दुरुस्त नहुने बताइन् ।

उक्त कार्यक्रममा सँविधानले प्रदत्त गरेका पालिका उपप्रमुखहरुको हक अधिकार र त्यसको कर्तव्यका बिषयमा समेत चर्चा भएको थियो । धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राना, गोदावरी नपरपालिका उपप्रमुख शारदा रोकाया, गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बम, लम्की चुहा नगरपालिका उपप्रमुख जुना चौधरी, भजनी नगरपालिका उपप्रमुख राजु तिरुवा, मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँद, चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापा, जानकी गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया लगायतले उपप्रमुख तथा उपाध्यक्षका मातहत रहने सातवटा विषयहरुमा चर्चा गरेका थिए ।

विशेष गरी राजस्व परामर्श समिति र योजना तथा अनुगमन समितिका विषयमा बढी केन्द्रित शुक्रबारको कार्यक्रम आगामी दिनमा अन्य विषयमा केन्द्रित भएर साझा धारणा बनाउने भन्दै टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाहको संयोजकत्वमा १३ सदस्यीय एक समिति गठन गरेको छ । सदस्यहरुमा कैलाली जिल्लका अन्य १३ वटै पालिकाकाका उपप्रमुख र उपाध्यक्ष रहनु भएको छ । हरेक तीनतीन महिनामा यस्तै प्रकारले चक्रिया प्रणाली अनुसार अध्यक्षता गर्ने गरी हरेक पालिकामा कार्यक्रम गरिने बताइएको छ । आगामी कार्यक्रम लम्की चुहा नगरपालिकामा हुने शुक्रबारको कार्यक्रममा निर्णय भएको छ ।

उपप्रमुख तथा उपाध्यक्ष मातहत अन्य समितिहरुमा बजेट तथा कार्यक्रम तर्जुमा समिति न्यायिक समिति, उपभोक्ता हकहीत संरक्षण समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, गैर सरकारी संघसंस्था समन्वय उपशाखा रहेका छन् ।

टिकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहको अध्यक्षतामा भएको यस कार्यक्रमको सञ्चालन नगरपालिकाकी कर्मचारी अमृता रावलले र स्वागत लेखा अधिकृत लक्ष्मी ओडले गरेका थिए । कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नगरपालिकाका कर्मचारी, न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।