![]()
काठमाण्डौ/बाह्य युद्धमा नेपालीहरुको संलग्नता भइरहेकोले त्यसलाई रोक्न मानवअधिकारवादी संस्था मानव अधिकार तथा शान्ति समाजले शनिबार एक विज्ञप्ति जारी गरेको छ ।
उक्त युद्धमा पछिल्ले समयमा नेपालीहरुको समेत सहभागिता रहँदै आएको कुरा पछिल्ला घटनाक्रमले देखाएकोृ प्रति चिन्ता ब्यक्त गर्दै समाजले सो विज्ञप्ति जारी गरेको हो । समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बरालद्वारा जारी उक्त विज्ञप्तिमा फरवरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको रुस युक्रेन युद्ध दुई वर्ष पुग्न लाग्दा पनि नरोकिएको बताइएको छ ।
युरोपबाट शुरु भएको युद्धको डढेलो पश्चिम एशिया हुँदै दक्षिण एशियासम्म सरिसकेको अवस्थामा इजरायल र हमासबिचको युद्धले पश्चिम एशिया त्राहीमाम बनेको बताइएको छ । अमेरिकी गठबन्धन र यमनको अधिकांश भाग कब्जा गरेको हुथी (पश्चिमद्वारा आतंकवादी घोषित) समूहबीच आक्रमण प्रत्याक्रमणले रक्तसागर क्षेत्र अशान्त छ, उक्त विज्ञप्तिमा भनिएको छ ।
यसैबिच इरानले पाकिस्तानको सीमावर्ती बलुचिस्तानमा गरेको आक्रमण र पाकिस्तानले गरेको प्रत्याक्रमणले युद्धको बाछिटा दक्षिण एशियासम्म आइपुगेकोले युद्ध विस्तारित हुँदै जानु विश्व शान्ति र मानव सभ्यताका लागि गम्भीर खतरा रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, रुस युक्रेन युद्ध शुरु भएपछि मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित विशेष अभियान सञ्चालन गरेको, युद्धको प्रारम्भिक चरणमै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सो युद्धमा नेपालीहरु सैन्य प्रयोजनमा दुरुपयोग हुनसक्ने संभावना औल्याउँदै त्यस्तो संभावनालाई रोक्न सार्वजनिक तवरमै आग्रह गरेको कुरा अहिले सत्य सावित भएको विज्ञप्तिमा बताइएको छ ।
विज्ञप्तिमा रुसी सेनामा भर्ती भएका दर्जन बढी नेपाली मारिएको तथ्य प्रकाशमा आएको र सयभन्दा बढी वेपत्ता भएको कुरा समेत उल्लेख गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, पछिल्लो चरणमा पूर्वी एशियामा बढ्दो तनाव (उत्तर र दक्षिण कोरियाबिच द्वन्द, उत्तर कोरिया र जापानबिच तनाव, यस्तै चीन र ताइवानबिच बढ्दो द्वन्द)का सन्दर्भमा पनि नेपालीहरु सैन्य प्रयोजनमा दुरुपयोग हुनसक्ने आशंका शान्ति समाजकै मञ्चमा व्यक्त भइसकेको छ ।
विज्ञप्तिको अन्तमा बाह्य युद्धमा नेपालीको संलग्नता रोक्नका लागि प्रष्ट कानून बनाउन सम्वद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको पराराष्ट्र नीतिको केन्द्रविन्दुमा सदैव शान्ति र अहिंसा रहनुपर्छ भन्ने धारणा शान्ति समाज सबैलाई स्मरण गराउँछ भनिएको छ ।
