Loading

टीकापुर, २१ भदौ/ नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रहेका सुरेन्द्र चौधरीले पार्टी कुनै विधि विधानमा नचलेर तानाशाही ढंगले चल्न थालेपछि आफूले नागरिक उन्मुक्ति पार्टी छोडेको बताएका छन् ।

उनले शुक्रबार टीकापुरमा आयोजित प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि सम्वाद कार्यक्रम नामक अनौपचारिक विचार समूहद्वारा आयोजित प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि सम्वाद कार्यक्रममा सहभागीहरुले पार्टी छोड्नुको कारण सोधेपछि उनले सो कुरा बताएका हुन् ।

सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्दा जुन उत्साह थियो त्यो उत्साह पार्टीका महाराज र महारानी बनेकाहरुले समाप्त पारेको आरोप लगाए । नागरिकलाई उन्मुक्ति दिनका लागि आवाज उठाउँदै तयार गरिएको पार्टीले चुनावपछि बिस्तारै नेता र कार्यकर्ताका आवाज दबाउँदै लगेको बताए ।

‘टीकापुर घटना राजनीीतक घटना भएकोले सो घटनामा समेटी निर्दोष ब्यक्तिहरुलाई बन्दी बनाएको भन्दै जेनेभासम्म आफूले आवाज उठाएको र मुद्धा हालेको स्मरण गराउँदै भने, पञ्चायतकालमा सकिएको ठालुको घरमा जनताले निशुल्क श्रमदान गर्नुपर्ने परम्परा पार्टीका संरक्षक बनेका रेशम चौधरीले लागु गर्न थालेकाले पार्टीमा विचार, नीति सिद्धान्त सबै सकिएको छ’ उनले बताए ।

टीकापुर घटनाका ४ जना निर्दोष बन्दीहरुलाई छुटाउनुको साटो उनीहरुलाई २०८४ को चुनाव जित्ने मिशन बनाएर आन्दोलनमाथि ठूलो धोका दिएको बताए । आफूहरुले आममाफी मागेर अपराधी बनेर छुट्नु हुँदैन बरु दक्षिण अफ्रिकाका महान नेता नेलशन मण्डेलाजस्तो त्याग गर्नुपर्छ एकदिन अवश्य सबै जनताले बुझ्नेछन् र सबैको आवाज राज्यले सुन्नेछ अनि पहिचानको सम्वोधन गर्दै ससम्मान रिहा गर्नेछ भनेर सल्लाह दिँदा नमानेर साच्चिकै अपराधीजस्तो सुटुक्क एक्लै आफ्नो नाम मात्र आम माफीका लागि पठाएर रिहा भएको बताए ।

‘जब त्यसै गर्नु थियोभने आफ्नो मात्र किन अरु चारजना बन्दीहरुको विषयमा चुप लागेको, किन उनीहरुको नाम आममाफीको लागि नपठाएको भन्दै आगामी चुनाव तिनै चारजना बन्दीलाई मोहरा बनाई मिशन ८४ पूरा गर्ने उनको लक्ष्य रहेको तर त्यो कहिल्यै पुरा नहुने’ उनले बताए ।

‘कसैलाई सडकबाट उठाएर महारानी बनाउन पार्टी खोलिएको थिएन । पहिचानको आन्दोलनको जगमा सम्रग पिछडिएका जाति समुदाय, वर्गको हितमा हुने गरी सबैको साझा बनाउन पार्टी खोलिएको थियो तर गन्तव्य विहिन र विचारविहिन बनाएर लान खोजे, सल्लाह दिँदा नमान्ने, श्रीमान-श्रीमती सहित दुई तीनजनाले पार्टी चलाउन खोज्ने, कुनै विधि, पद्धति, राननीतिक दृष्टिकोण केही छैन, तानाशाही शैलीले पार्टी चलाउन खोज्ने अनि कसरी त्यसमा बस्न सकिन्छ’ उनले भने । ‘यसरी गन्तव्य विहिन दल र विचारविहिन पार्टी बिघटन भएर जान्छन्, धेरै दिन चल्न सक्दैनन् । केही दलका उदाहरण हेर्दा हुन्छ’ नेता चौधरीले भने ।

सहभागीको जवाफ दिँदै उनले भने- ‘जुन काँग्रेस, एमाले र माओवादीले चरित्र देखाए त्यसभन्दा तल्लो स्तरको काम नयाँ पार्टीले गर्न थालेपछि किन बस्ने त्यस्तो पार्टीमा ? उनले प्रतिप्रश्न गरे । हजार माइलको यात्राको लागि हिँडेको मान्छे दुईसय मिटरको यात्रा गरेसँगै अल्झिन थालेपछि कसरी पार्टी चल्छ र ?’

‘ज्ञान विनाले पार्टी चल्दैन, ज्ञान उर्जा हो, ज्ञान बारुद हो, ज्ञान योजना हो र खाका पनि हो । आज पुष्पलाल, विपीलाई किन राजनेता भन्छौं लक्ष्य लिएर लागेकाले नै हो । काँग्रेस, एमाले माओवादी अहिले बिग्रेपनि पहिले राम्रै थिए लक्ष्य लिएर नै अगाडि बढेका थिए । राज्यका हरेक क्षेत्रमा एकल होइन सबैको साझा प्रतिनिधित्व हुनु पर्दछ तबमात्र त्यो दिगो रहन्छ । तर नागरिक उन्मुक्तिमा त पार्टी विधानमा रेशम र रञ्जितालाई मन परेन भने ठाउँका ठाउँ कारवाही गर्ने व्यवस्था गरिएको छ । पार्टीको हरेक कार्यक्रममा आफ्नो फोटो राख्नुपर्ने । कसैले फरक मत राख्न नपाउने ? लोकतान्त्रिक व्यवस्थामा दलमा यस्तो पनि हुन्छ कतै । अब भन्नुहोस् पार्टी तानाशाही नभएर के बन्छ ? त्यसैले यस्तो पार्टीमा गतिविधि हुन थालेपछि पार्टी छाड्न बाध्य भएको हुँ ।’ आगामी दिनमा रेशम र रञ्जिता जीको कार्यक्रम भए वा अन्य खुल्ला कार्यक्रम आयोजना भएमा आफू टीकापुर आएर उनीहरुकै सामु यो कुरा भन्ने उनले बताए ।

यतिमात्र नभई उनले रेशम जी संघीयता विरोधी समेत भएको आरोप लगाए । ‘नेपालको संविधान २०७२ मा जिल्लाको संरचनाको अवधारणा छैन, विस्तारै जुन हटाइने पनि बताइएको छ । अब उनले टीकापुर जिल्ला बनाउनुपर्छ भनेर माग गरेका छन्, उनले अब म कि त राजावादी हुँ भन्नुपर्यो, कि त महेन्द्रवादी हुँँ भन्नुपर्यो’ उनले भने ।

कार्यक्रममा उनले देशमा पछिल्लोपटक राजनीतिक दलहरु स्वार्थमा लागेकाले वैकल्पिक राजनीीतक शक्तिका लागि आफूहरु देश भरिका जनताको सल्लाह लिन आएको बताए । दल, सरकार, राज्य, समाजप्रति जनताको के धारणा छ त्यो बुझिरहेकाले आगामी दिनमा सबैको चाहना भएमा नयाँ बैकल्पिक शक्तिका रुपमा दल समेत खोल्ने बताए ।

यस्तै सो विचार समूहका सदस्य प्रशान्त सिँह, डम्मर खतिवडाले पनि आफ्नो धारणा राखेका थिए । वाम तथा राजनीतिक विश्लेषक मुमाराम खनाल र केशव दाहाल पनि सो समूहमा सहभागी रहेका छन् । कैलालीमा भोलि लम्की, अत्तरिया र धनगढीमा समेत कार्यक्रम गरिने खतिवडाले जनाएका छन् ।

उक्त कार्यक्रममा सहभागीहरुमा शिव थापा, चक्रबहादुर चौधरी, हर्कबहादुर स्वाँर, सर्पराज चौलागाई, सीतारानी चौधरी लगायतले जिज्ञासा राख्दै सल्लाह समेत दिएका थिए ।