Loading

लम्की, कैलाली/ सन्त निरंकारी मण्डल नेपालका पूर्व सचिव दुर्गाप्रसाद भण्डारीले मानिसको एउटा सानो गल्तीले पनि कहिलेकाँही जीवनलाई विपरित मार्गमा पुर्याउने भएकाले त्यस्तो गल्ती गर्न नहुने बताएका छन् । उनले शनिबार लम्कीस्थित सन्त निरंकारी सत्सँग भवनमा शनिबार आयोजित साधसँगतलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले अवतारवाणी ग्रन्थको एक पंक्तिलाई लिएर ब्याख्या गर्दै भने ‘अनुपान’ को ठाउँमा ‘अनुमान’ गर्दा केवल ‘प’ र ‘म’ को फेरबदल देखिन्छ तर यस्ले पुरै पंक्तिको मात्र नभई श्लोक वा सन्देशको नै अर्थ विपरित गराउँछ । जस्तै : “औषधी होत नही गुणकारी ठीक यदि अनुमान नही” र “औषधी होत नही गुणकारी ठीक यदि अनुपान नही” यस पंतिमा केवल एक अक्षर ‘प’ को स्थानमा ‘म’ मात्र परिवर्तन गरिएको छ तर अर्थ पुरै पंक्तिको बदलिएको छ ।

बदलिनु मात्र होइन अर्थ नै विपरित भएको छ । पंक्तिमा ‘म’ लगाउँदा बिमारको विना अनुमान गरी औषधी दिने डाक्टर दोषी देखिन्छ भने त्यसमा ‘प’ लगाउँदा डाक्टरले दिएको औषधीलाई सही प्रकारले सेवन नगर्ने सेवनकर्ता दोषी देखिन्छ । ठीक यस्तै प्रकारले कहिलेकाँही जीवनको एउटा सानो गल्तीले पनि जीवनको मार्ग नै विपरित दिशातिर लैजान्छ । त्यसैले हरेक कार्य गर्दा सोचेर विवेक पुर्याएर गर्नु आवश्यक हुन्छ उनले भने ।

यस्तै अवतार वाणीकै श्लोकको ब्याख्या गदै उनले भने, सन्त निरंकारी मिशनले चन्द्रमा कुनै भगवान नभई प्रकृति हो यो नाशवान छ परिवर्तनशील छ भनेर भन्दै आएको कुरा अहिले सबैका सामु प्रष्ट भएको छ । यसअघि रसिया, अमेरिका, चीनले चन्द्रमामा कदम राखिसकेका थिए तर यसपटक भारतले पनि चन्द्रमामा यानलाई सफल रुपमा अवतरण गरेपछि यो कुरा मान्न सबै बाध्य भएका छन् । त्यसैले चन्द्रमा मात्र होइन सुर्य, ताराहरु, माटो पानी, हावा, जीव आकाश यी सबै प्रकृति नै हुन् सबै नाशवान छन् । अहिले कसैले नमाने पनि आगामी दिनमा विज्ञानले थप पुष्टि गर्दै गएपछि सबैले प्रकृतिका रुपमा मान्न थाल्नेछन् ।

परमपतिा परमात्मा मात्र केवल सत्य हो अरु सबै मिथ्या हुन् भन्दै उनले परमपिता परमात्मा ईश्वरको न कुनै आदि छ न कुनै अन्त, न वार छ न त पार नै छ । यो अजन्मा, अथाह, विशाल, विनाश नहुनेवाला अविनाशी छ भने । आज वैज्ञानिकहरु केही ग्रह उपग्रहको खोजमा लागेर सफलता हासील गरेपनि सम्पूर्ण ब्रमाण्डको विषयमा अझैँ खोजी गरिरहेकै छन् । ईश्वरको विषयमा पनि उनीहरुले छैन भन्न सकेका छैनन् तर खोजीमा अवश्य लागिरहेका छन् । एकदिन यो पनि पुष्टि हुने नै छ । तर त्यसबेला हामी यस मानव शरीर रुपमा हुन्छौ वा हुँदैनौँ उनले भने ।

उक्त कार्यक्रममा ज्ञान प्रचारक महात्मा नवल सिँह बोहरा, स्थानीय मुखी देवराज रेग्मी, लतित बहादुर रावल, कृष्णप्रसाद रेग्मी, भक्त बहादुर रावल, धनञ्जय टमट्टा, तुलसी रेग्मी लगायतका सन्त महापुरुषहरुले आआप्नो दृष्टिकोण, विचार, भक्ति गीत प्रस्तुत गरेका थिए ।