Loading

सत्ति (कैलाली)/ भानु पुस्तकालय सत्ति र नारायणपुर सामुदायिक सिकाई केन्द्र सत्तिको संयुक्त आयोजनामा शुक्रबार सत्तिमा ‘पुस्तौं पुस्तका लागि पुस्तकालय’ शीर्षकमा माध्यमिक स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘१६ औं राष्ट्रिय पुस्तकालय दिवस’को अवसरमा भानु पुस्तकालय सत्तिको सभाहलमा आयोजना गरिएको उक्त वतृत्वकला प्रतियोगितामा निर्णायकद्वारा आफूले अध्यापन गरिरहेको विद्यालयका विद्यार्थीलाई उत्कृष्ट घोषणा गरी पुरस्कार प्रदान गरेका छन् ।

स्थानीय ६ वटा माध्यमिक स्तरका विद्यालयका ७ जना छात्रा र ५ जना छात्राहरु सहभागी भएको उक्त प्रतियोगितामा कर्णाली मावि सत्तिकी सन्सा ठकुल्ला प्रथम, त्रिभुवन मावि बटनपुरकी तृष्णा साउँद द्वितिय र कर्णाली माविकै रोशन तारामी मगर तृतीय बनाइएका थिए । यस्तै प्रतियोगिताकै उत्कृष्ट वतृत्वकला प्रस्तुति गरेकी जनता राष्ट्रिय मावि सुनाहाफाँटाकी आकृति रावललाई सान्त्वना स्थान प्रदान गरिएको थियो ।

यस्ता प्रतियोगिताहरुमा निर्णायक मण्डलका सदस्यहरु सहभागी प्रतियोगीहरु भएको विद्यालयको नहुने व्यवस्था हुन्छ । तर, यस प्रतियोगितामा भने सामान्य सिद्धान्त विपरित आफ्नै विद्यार्थीहरु प्रतियोगी भएको विद्यालयका अध्यापकहरु नै निर्णायक बनाइएपछि नतिजा विपरित निस्कने पहिले नै अनुमान गरिएको थियो । परिणाम स्वरुप निर्णायक मण्डलका संयोजकले आफूले पढाइरहेका विद्यालयका विद्यार्थीहरु नै प्रथम, द्वितीय र तृतीय बनाएका थिए ।

प्रतियोगी विद्यालयका केही प्रतिनिधि शिक्षकले कार्यक्रमको शुरुमै यस्तै नतिजा निकाल्न सक्ने खतरा रहेको भन्दै कार्यक्रम संयोजक धनसरी कोइरालालाई निर्णायक परिवर्तन गर्न आग्रह गरेका थिए । तर उनले त्यस्तो नहुने निस्पक्ष हुने विश्वास दिलाएकी थिइन् एकजना प्रतिनिधि शिक्षकले बताए । तर नतिजा आइसकेपछि भने कोइरालाले नै निर्णायक मण्डलद्वारा नै गलत निर्णय भएको बताइन् । यस्तै आयोजक समेत रहेका भानु पुस्तकालय सत्तिका अध्यक्ष मनिराम ढुंगानाले पनि निर्णय गल्ती भएको स्वीकार्दै आगामी दिनमा यस्तो नहुने बताए ।

निर्णयक मण्डलमा प्रतियोगी विद्यालय कर्णाली मावि सत्तिका शिक्षक नरबहादुर बुढा संयोजक र सोही विद्यालयकी शिक्षिका कमला अर्याल सदस्य रहेकी थिइन् । एकजना सदस्य मात्र हिमालय मावि घियाका शिक्षक रामविलाश चौधरी सदस्य रहेका थिए र समयपालक शिक्षक लायकराम चौधरी रहेका थिए ।

निर्णायक मण्डलका संयोजक स्थानीय नोवेल पब्लिक स्कुलका शिक्षक भएपनि उनी प्रथम र तृतीय विजेता बनाएका कर्णाली माविका साथै द्वितीय विजेता बनाएका त्रिभुवन मावि बटनपुरमा समेत अध्यापन गर्दै आइरहेका छन् । आफै अध्यापन गराइरहेका विद्यालयका विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय बनाएपछि को आलोचना भएको छ । सहभागीहरुले हरेक पल्ट सत्तिमा यस्तै गर्ने भएकाले आगषमी दिनमा उनीहरुले गर्ने कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने बताएका छन् । संयोजक बुढासँग प्रतिक्रिया लिँदा आफूले आयोजकलाई निर्णायक नबन्ने भनेको तर आयोजकको दबाबमा मात्र बनेको छोटो प्रतिक्रिया दिएका छन् ।

प्रतियोगितामा १ जना छात्र र १ जना छात्राको सहभागिता गराइने भनिएपनि केही विद्यालयबाट छात्र नभई दुईजना छात्राहरु नै सहभागी गराएकाले पनि केही प्रतियोगीहरु विद्यालयका शिक्षकको गुनासो थियो । कार्यक्रममा सहभागी एक जना शिक्षकले पहिले नै यस्तो नतिजा आउन सक्ने बताएका थिए ।

उक्त प्रतियोगितामा कालिका इंगलिश स्कुल नारायणपुरबाट प्रेरणा नायक र अनुप चौधरी, जनता मावि सुनाहाफाँटाबाट आकृति रावल र आर्यन रावल, राष्ट्रिय मावि बेलुवाबाट शोभान चौधरी र रोजिना चौधरी, सेतीमैयाँ मावि झुँगाबाट दुर्गा चौधरी र सुदेशा चौधरी, कर्णाली मावि सत्तिबाट सन्सा ठकुल्ला र रोशन तारामी मगर, त्रिभुवन मावि बटनपुरबाट तृष्णा साउँद र रमित विश्वकर्मा रहेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि दमनसिँह चौधरीले भने, ”पश्चिमाहरुले तिनै पुर्वीय दर्शनको गहिरो अध्ययन गरेर तमाम आविस्कार गरिरहेका छन् जुन पुस्तकहरु पुर्वीय दर्शनका मानिसहरुले पुस्तकालय वा घरमा थन्क्याएर थन्क्याएर राखेका छन् । भएको ज्ञानलाई पनि हामीले पस्ता हस्तान्तरण गर्न सकिरहेका छैनौं चाहे पण्डित्याई गर्ने मानिसको कुरा होस् वा सुनको काम गर्ने मान्छेको कुरा होस् । जानेको काम पनि गर्न छोड्यौ अरुले त्यही काम सिकेर आर्थिक उपार्जन राम्रै गरिरहेका छन् ।”

”ज्ञान प्राप्त गर्नलाई मनको भाँडो खाली हुनुपर्ने बताए । मनको भाँडो खाली गरेमा मात्र ज्ञान भण्डार गर्न सकिन्छ । विद्यार्थी भाइबहिनीहरुले पनि साथ र संगत सही मान्छेको मात्र गर्नुपर्छ । सही मान्छेबाट धेरै कुराको ज्ञान हासील गर्न सकिन्छ । त्यसैले आज नराम्रो शिक्षा लिने बानी त्यागेर अध्ययन गर्ने र सही कुराको ज्ञान लिने बानीको विकास गर्न जरुरी छ,”  प्रमुख अतिथि चौधरीको भनाइ थियो ।

यस्तै कार्यक्रमका अतिथि दुर्गाप्रसाद भण्डारीले पुस्तकालय केवल कुनै निश्चित मापदण्डभित्र बनाइएको घरमा सिमित नरहेको बताए । उनले आधुनिक युगमा हातहातमा रहेका मोबाइल र घरघरमा रहेका ल्यापटप वा कम्प्युटरमा पनि एक प्रकारका पुस्तकालय नै भएको बताए । ‘ती प्रविधिको प्रयोग सही रुपले गरेर पनि त्यसभित्र रहेका पुस्तकालयहरुबाट ज्ञान बटुल्न सकिन्छ,’ उनले भने .

‘यतिमात्र होइन हाम्रो प्रकृति पनि एक किसिमको पुस्तकालय हो यस प्रकृतिमा रहेका हरेक चल अचल वस्तुबाट शिक्षा लिन सकिन्छ । यस्तै यही कार्यक्रम पनि एउटा पुस्तकालय जस्तै हो यहाँ भएका हरेक पात्रहरु पनि एक पुस्तक सरह नै हुन् हरेकाका क्रियाकलापबाट पनि शिक्षा लिन सकिन्छ । त्यसैले सामान्य रुपमा भन्नुपर्दा पुस्तकालय निश्चित घेराभित्र तोकिएको स्थानमा रहेको पुस्तक लगायतका सामाग्राी रहेका एउटा घर हो । व्यापक अर्थमा भन्नुपर्दा हाम्रो वरिपरि हामी जेजे देख्छौ त्यो सबै एक पुस्तकालय नै । कुन कुरा ग्रहण गर्ने त्यो केवल हामीमा निर्भर रहन्छ’ अतिथि भण्डारीले भने ।

उक्त प्रतियोगितामा विजेता तथा सहभागी विद्यालय प्रतिनिधिहरुलाई प्रमुख अतिथि टीकापुर नगरपालिकाका शिक्षा उपसचिव दमन सिँह चौधरी, विशिष्ट अतिथिहरु नेपाल पुस्तकालय महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानराज बिनाडी, वडाध्यक्षद्वय यज्ञप्रसाद न्यौपाने तथा दिर्घबहादुर ठकुल्ला, अतिथिहरु भानु पुस्तकालयका पूर्व अध्यक्ष, हरि कार्की, पुर्व उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, सञ्चारकर्मी ईश्वर बहादुर साउँद, कार्यक्रमका अध्यक्ष मनिराम ढुंगाना, कार्यक्रमका आयोजक कपुरसिँह कडायत, निर्णायक मण्डलका संयोजक नरबहादुर बुढा र प्रतियोगी विद्यालयको तर्फबाट राष्ट्रिय मावि बेलुवाका शिक्षक राजाराम चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा सम्पूर्ण वक्ताहरुले पुस्तकालय ज्ञानको अथाह भण्डार भएकोले हिजोका दिनमा, आजका दिनमा उत्तिकै महत्व भएको र आगामी दिनमा पनि यस्को महत्व झन बढी हुने बताएका थिए । पुस्तकालयका रुप परिवर्तन भएपनि पुस्तकालय हमेशा रही रहने बताएका थिए । हातहातदेखि घरघरमा अब त डिजिटल प्रविधिका पुस्तकालयहरु रहेका भएता पनि यसको सकारात्मक प्रयोग भएमा मात्र व्यक्ति समाज, देश र पुरै विश्वको विकासका टेवा पुग्ने बताए । सबै सहभागीहरुले अभ्यासको कमिका बाबजुद पनि राम्रो बोलेका बताएका थिए ।

कार्यक्रमको सञ्चालन आयोजक संस्था नारायणपुर सामुदायिक सिकाई केन्द्रका सचिव टोपबहादुर केसीले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा आयोजक दुवै सँस्थाकी उपाध्यक्ष धनसरी कोइरालाले गरेकी थिइन् ।