Loading

–दुर्गाप्रसाद भण्डारी–
भर्खरै कक्षा १२ को परीक्षाको परिणाम सार्वजनिक भएको छ । करिब ५१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । भने करिब ४९ प्रतिशत विद्यार्थीहरु फेल भएका छन् । झण्डै एकलाख बढी विद्यार्थीहरु अंग्रेजी विषयमा मात्रै फेल भएको तथ्यांक पनि बाहिर आएको छ । सामान्यतया पढ्ने, लगनशील र मेहनती विद्यार्थी सफल हुन्छ र नपढ्ने, मौसमी र पढाईमा लापरवाही गर्ने व्यक्ति असफल हुन्छ यो सर्वमान्य सिद्धान्त पनि हो । तर सबै विद्यार्थी नपढेर फेल हुने भने हैनन् । कतिपय विद्यार्थीको नतिजा परीक्षा बोर्डको लापरवाहीका कारण पनि बिग्रेको छ । कक्षामा सधैं प्रथम भइरहने विद्यार्थीको नतिजा आउँदा पनि एउटा विषयमा नराम्रो भएपछि फेल हुने वा थप मार्क दिएर पास गरिने परिपाटी पहिले देखि नै हो । नपढ्ने विद्यार्थीले त नतिजामा चित्त बुझाउन सक्छ तर अब्बल विद्यार्थीले जब राम्रो गर्दागर्र्दै पनि नतिजा नराम्रो आउँछ भने त्यसको कहिल्यै मनमा सन्तोष हुँदैन । यसका तमाम उदाहरणहरु छन् ।
भाग्य ठानेर चित्त बुझाउनु पर्ने बाध्यता
साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिामाञ्चल विकास क्षेत्रका अधिकांश विद्यार्थीहरु नतिजा आएपछि भाग्यले नै गर्दा असफल भएको भनेर रिटोटलिङ गर्न जाँदैनथे । त्यसका लागि काठमाण्डौ धाउनु पर्ने, त्यहाँ जाँदा आउँदा र बस्दा धेरै खर्चिलो हुने, त्यसका लागि प्रतिशत तोकिएका कारण पनि पुनर्योग (रिटोटलिङ) हुन्छ नै भन्ने भरोसा नभएका कारणले गर्दा जाँदैनथे र फेल हुनुमा भाग्यलाई दोष दिँदै चित्त बुझाउँथे । तर राजधानी र अन्य स्थानका भने भाग्यलाई दोष नदिएर रिटोटलिङका लागि काठमाण्डौ जाने र पास भएर पनि आउने गरेका थिए ।
महुन्याल मावि भजनी, कैलालीबाट २०४९ मै एसएल सी दिएका चन्द्र बहादुर बोहरा पनि अर्थशास्त्र विषयमा २८ नम्बर र सुरेश हमाल २८ नम्बर आएर (त्यसैबेला ३ मार्क मात्र गेस दिने व्यवस्था भएको थियो) असफल हुनु परेको थियो । यस्तै २०५० सालको एसएलसीको परीक्षामा वीरेन्द्र विद्या मन्दिर टीकापुर कैलालीबाट एसएलसी दिएका अब्बल दर्जाका विद्यार्थी गणेश चौधरीले प्राप्त गरेको मार्क प्रथम श्रेणीको भएपनि स्वास्थ्य विषयमा २७ नम्बर मात्र आएपछि अनुत्तीर्ण हुनु परेको थियो त्यसका लागि उनले थप १ वर्ष नै कुर्नु परेको तीतो यथार्थ थियो । त्यसबेला आपूmलाई पुर्नयोग गर्नुपर्छ भन्ने थाहा नभएको र भाग्यका कारण नै फेल भइएछ भन्ने लागेको चौधरीले लेखकलाई बताएका छन् । त्यतिमात्र कहाँ होर पछि काठमाण्डौस्थित रत्नराज्य क्याम्पसमा स्नातक अध्ययन गर्दा मेजर इंगलिशमा राम्रो नम्बर ल्याएर उत्तीर्ण तर अनिवार्य अंग्रेजीमा फेल भनेर परीणाम आएपछि आपूmलाई एसएलसीको सम्झना गराएको बताए । उनले त्यसबेला भने पुर्नयोगका लागि आवेदन दिएको ७ दिनमा प्रथम श्रेणाीमा पास भएको पुर्नयोगको नतिजा आएको बताए । काठमाण्डौ उपत्यका भित्रका त अलिकति शंका लाग्ने बित्तिकै सानो ठिमी पुगेर पुर्नयोगको लागि आवेदन दिने तर हाम्रो पश्चिम नेपालतिरका हामी भाग्यले फेल भइएछ भनेर वास्ता नगर्ने समेत बताएका छन् । यस्तै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट २०५३ सालमा भएको मा आइ. ए. पहिलो वर्षको परीक्षामा भूगोल विषयको प्रयोगात्मक परीक्षामा १ नम्बर कम (७ नम्बर) आएर लेखक स्वयं असफल हुनु प¥यो । सबैका प्रयोगात्मक पुस्तिका तयार गर्ने लेखक आफै सो विषयमा फेल भएपछि कसैले रिटोटलिङ वा पठाइएको नम्बर के कति हो भन्ने सोधनी समेत भएन । त्यसबेलामा प्रयोगात्मकको नम्बरका लागि बाह्य परीक्षक आएर लिने चलन नै थियो । जुन भाग्यमा निर्भर भएर परिणाम स्वीकार्न बाध्य भएका यस्ता तमाम उदाहरणहरु छन् ।
पहुँचका आधारमा मात्र हुन्छ पुर्नयोग
कैलालीका मेरा मित्र वरिष्ठ पत्रकार हेमन्त पौडेलका भान्जाले २०७५ सालको कक्षा १२ को परीक्षाको नतिजामा प्राप्ताङ्कमा २ विषयमा चित्त नबुझेमा भारतको मुम्बईमा पुगेका उनले पुर्नयोगको लागि राष्ट्रिय परीक्षा बोर्डमा निवेदन दिए । संयोगले काठमाण्डौमा भएको बेला यो लेखक र मित्र हेमन्त जी दुवैजना परीक्षा नियन्त्रकलाई भेट्न सानो ठिमी भक्तपुरमा गयौं । हामीले आप्mनो सामान्य परिचय मात्र दिएका थियौ, त्यसपछि तत्कालीन परीक्षा नियन्त्रकले हामीलाई भने, तपाईहरुको आफ्नै मान्छे हो भने मात्र पुर्नयोग गरौं सर अरु कुनैको हो भने रिटोटलिङ गराएको हो फेरि फेल नै भयौ भनेर भनि दिनुहोस् बरु परीक्षा फाम भरेको भए परीक्षा दिन लगाउनुहोस्, १० प्रतिशत मात्र हो पुर्नयोगका लागि आवेदन लिने सबैको हेरेर सम्भव नै हुँदैन । उनले यस्तो कुरा गरेपछि मैले तत्कालै प्रतिवाद गरेको थिएँ । तपाईहरुजस्ता मान्छेले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहनु भएको छ । त्यसैले हामीलाई संघीयताको खँचो हो । पुर्नयोगको व्यवस्था हरेक प्रदेशमा हुनुपर्दछ । त्यसपछि उनले कुरा मिलाउँदै रिटोटलिङ गरिदिने बताएका थिए ।
यस्तै अर्को उदाहरण २०७६ सालकै एसइइ परीक्षाको नतिजामा सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुर कैलालीका प्रथम र द्वितीय विद्यार्थीहरु लक्ष्मण साउँद र ऋजुश्री माण्डव्यको नेपाली विषयमा सी प्लस आएको थियो । ए प्लस ग्रेडमा उत्तीर्ण हुने आशा गरिएका ती दुवै विद्यार्थीहरुको नेपालीमा सी प्लस आएपछि पुर्नयोगका लागि राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानो ठिमी भक्तपुरमा यो लेखक पनि गएको थियो । ऋजुश्रीले लेखा र सामाजिक विषयमा पनि ए प्लसको दाबि गरेकी थिइन् तर ती दुवै विषयमा पनि बी प्लस थियो । उनको दाबि अनुसार पछि तीनवटै विषयमा पुर्नयोगको लागि आवेदन दिइयो । त्यसपछि परीक्षा नियन्त्रकलाई भेटेर भनियो पनि । नियन्त्रकले हुन्छ सर नानीलाई मर्का परेजस्तो मलाई पनि लागेको छ नेपाली विषयको एक हप्तामा हेर्छौ । त्यसपछि अरु दुई विषयको लागि दुई हप्ता कुर्नु पर्ला । त्यसपछि हामी फर्कियौं । एक सातापछि नेपालीमा ए ग्रेड आयो । तर अन्य दुई विषयको बारेमा दुई हप्तापछि सोधेको परीक्षा नियन्त्रक सरुवा भएर विभागमा आउनु भएको रहेछ । म पनि कैलाली फर्किसकेको थिएँ । नयाँ नियन्त्रकलाई सम्पर्क गर्दा सम्पर्कमा आउनु भएन । सह नियन्त्रकसँग सम्पर्क हुँदा उहाँले अब त्यो हुँदैन सर कतिको हेर्ने हो फुर्सद नै छैन भनेर फोन राख्नुभएको थियो । उनै ऋजुश्रीले पछि जेभियर इन्टरनेशनल कलेजमा कक्षा १२ मा कजेज टप गरिन् ।
तर, ऋजुश्रीको जस्तै नेपालीमा सी प्लस आएका लक्ष्मण साउँदको भने पुर्नयोग नै भएन उनले त्यसैमा चित्त बुझाउनु पर्यो । उनले पनि परीक्षा नियन्त्रकलाई भेटेर भनेको भए सायद पुर्नयोग हुन्थ्यो होला । मैले सँगै जान बोलाएको थिएँ तर उनी आएनन् पछि आफ्नो काकासँग गएर रिटोटलिङको लागि आवेदन दिएका थिए । यी त केही उदाहरणहरु मात्र हुन् । देशभरी यस्ता तमाम उदाहरणहरु होलान् ।
लापरवाही बोर्डको, मार विद्यार्थीमाथि
जब परीक्षा बोर्डले मार्किङ गर्दा वा कपी चेक गर्दा वा प्राप्ताङ्क चढाउँदा एउटा अंक तलमाथि परेमा लहरैसँग प्रत्येक विद्यार्थीको प्राप्ताङ्क तलमाथि हुन जान्छ । अहिले केही परीणाम हेर्दा त्यस्तै देखिन्छन् । कक्षामा बल्लतल्ल पास हुने विद्यार्थीका पनि ए ग्रेड र ए प्लस ग्रेडका अंक आएका विषयहरु पनि छन् । जुन लब्धाङ्क पत्र हेर्दा अध्यापन गराउने शिक्षक, अभिभावक मात्र होइन स्वयं विद्यार्थी पनि चकित छन् । तर कतिपय अब्बल विद्यार्थीको डी, डी प्लस, सी, सी प्लस जस्ता केही विषयमा मार्क आउँदा कतिसम्मको लापरवाही भइरहेको छ भन्ने प्रष्ट हुन्छ । जस्को केही उदाहरण मािथ दिइसकिएको छ । यसरी परीक्षा बोर्डले गर्ने लापरवाहीको भागिदार विद्यार्थीले बन्नुपर्ने अवस्था छ ।
हो, मानवीय त्रुटी हुन्छ नहुने होइन तर कुनै विद्यार्थीले पुर्नयोगका लागि आवेदन दिन्छ भने आफूले गरेको आधारमा नै दिने गर्दछ । तर बोर्डले पुर्नयोग नगरिदिने, पहुँच पुगेकाहरुको मात्र पुर्नयोग गर्ने परिपाटी रहने हो भने किन चाहियो र यस्तो परीक्षा बोर्ड । किन चाहियो र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने निकाय । किन चाहिए ती निकायमा त्यस्ता व्यक्तिहरु । अब कि त हरेक प्रदेशमा नै पुर्नयोग गर्ने व्यवस्था मिलाए हुन्छ । नगर्ने हो र यसरी नै पहुँचवालाको मात्र विषय हेरिने हो भने त्यस्तो बोर्ड बिघटन गरिदिए हुन्छ ।
सबैको पुर्नयोग गर्ने र उत्तीर्ण विषयको शुल्क फिर्ता गर्नुपर्छ
पुर्नयोग नतिजाका लागि लिइने शुल्कमा पनि जस्को पुर्नयोगमा परिवर्तन भएर नतिजा उत्तीर्ण आउँछ त्यसको पुर्नयोग शुल्क बापतको फिर्ता गरिनुपर्छ । बोर्डको लापरवाहीले भएको गल्तीको भागीदार विद्यार्थीलाई बनाउन हुँदैन । यदि पुर्नयोगमा कुनै फेरबदल नभएमा वा जुन जुन विषयमा फेरबदल भएन त्यसको शुल्क मात्र लिइने व्यवस्था हुनु पर्दछ । आफ्नो त्रुटिको भागीदार अरुलाई बनाउनु भनेको आपराधिक कार्य सरह नै हो । विकसित मुलुकहरुमा यस्तो त्रुटिको उल्टो हर्जाना समेत तिर्नुपर्ने व्यवस्था छ । हुन त यहाँ पनि राष्ट्रिय परीक्षा बोर्डले बनाएको परीक्षा पुस्तिका चेकजाँँच सम्बन्धी निर्देशिकामा चेकजाँँच गर्दा लापरवाही गरेको अवस्थामा चेकजाँच गर्ने परीक्षकलाई जेल सजायँसम्म हुने कारवाहीको व्यवस्था गरिएको छ तर त्यो केवल कागजमा मात्र सीमित छ लागु भएको पाइदैन ।
विभेदकारी सोच त्यागेर पुर्नयोगमा ध्यान दिन आवश्यक
मानिबाट नै गल्ती हुन्छ नहुने होइन तर जानिजानी गल्ती गर्नु र लापरवाही गरेर कसैको भविष्यमाथि खेलवाड गरिन्छ भने त्यसलाई गल्ती मान्न सकिदैन त्यो दण्डको भागीदार हुनुपर्छ । यहाँ माध्यमिक शिक्षा परिषद, उच्चमाध्यमिक शिक्षा परिषद, हालको राष्टिय परीक्षा बोर्ड र त्रिभुवन विश्वविद्यालयका परीणाम र त्यसले विद्यार्थीको जीवनमा पारेको असर र पुर्नयोगका लागि दिइएका केही उदाहरणहरु आए । तर देशभरमा यस्ता कैयौं उदाहरणहरु हुन सक्छन् । एउटै विषयका कारण मानिसको जीवन बर्बाद भएका पनि तमाम घटनाहरु हुन सक्छन् । पुर्नयोगका लागि १० देखि १५ प्रतिशतसम्म मात्र आवेदन लिने व्यवस्था गरिएपनि पहुँच नभएकाहरुको पुर्नयोग नै नहुने कुरा त्यहाँकै केही कर्मचारीहरुले यस लेखकलाई बताएका थिए । विद्यार्थीको भविष्यमाथि अनेक तरहले खेलवाड गर्ने तर पुर्नयोगका लागि शुल्क लगेर पनि पुर्नयोग नगरी झारा टार्ने कामले नेपाली शिक्षाको परीक्षा प्रणालीप्रति मात्र होइन समग्र शिक्षा प्रणालीमा समेत प्रश्न उठाएको छ ।
२०६७ ०६८ तिर जिल्ला शिक्षा कार्यालय कैलालीमा आइपुगेका एसएलसीको उत्तरपुस्तिका परीक्षण गर्दै गरेका एक परीक्षकले परीक्षणको नीति बिपरित साँझपख उत्तरपुस्तिका घरमा लग्ने क्रममा धनगढीको एक स्थानीय होटलमा छोडेपछि स्थानीय सञ्चारमाध्यममा समाचारको विषय बनेको थियो । त्यसैले उत्तरपुस्तिका परीक्षणमा समेत आफन्त र कुनै नेता शिक्षकहरुको प्रभावमा नपरी योग्य परीक्षकलाई मात्र दिइने व्यवस्था गरिनुपर्छ । त्यसपछि नतिजालाई ठीक ढंगले रुजु गरेर मात्र प्रकाशित गर्नुपर्छ । यदि यस्तो कार्यमा बिलम्ब हुन्छ भने एसएलसीको बोर्ड पनि हरेक प्रदेश अनुसार बनाउँदा हुन्छ । एउटै बनाइरहनु आवश्यक छैन ।
यसपटक पनि भर्खरै कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । अब्बल दर्जाका धेरै विद्यार्थीहरु आफ्नो परीणामप्रति सन्तुष्ट छैनन् । सायद उनीहरुले पुर्नयोगको परीक्षाका लागि आवेदन दिनेछन् । विद्यार्थीको आँखा छल्ने काम गर्नु हुँदैन । राम्ररी पुर्नयोग गरेर विद्यार्थीमाथि न्याय गर्नुपर्छ । शुल्क सहित आवेदन लिएर पुर्नयोग नै नगरी आलटाल गर्ने काम कतैबाट हुनुहुँदैन । देशका कर्णाधारमाथि खेलवाड गर्ने छुट कसैलाई छैन र गर्नुपनि हुँदैन । आशा छ, यस लेखको प्रकाशन पछि कुनैपनि तहका परीक्षामा होस् वा पुर्नयोगमा कुनै विद्यार्थीमाथि अन्याय नहुने अपेक्षा गरिएको छ ।

(लेखकः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक उपाध्यक्ष हुनुहुन्छ)