![]()
काठमाडौँ/चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ ।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो० ले जनाएको छ।
भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न सबैलाई बधाई दिएका छन् । इसरोले चन्द्रमामा यान अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक चन्द्रमाको दक्षिणी ध्रुवमा पानीमा आधारित बरफको खोजी गर्नु रहेको इसरोले जनाएको छ ।
यसअघि अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरेका थिए । यद्यपि चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै मुलुकको यानले पनि अवतरण गरेका छैनन् । सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ ।
चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई
यसैवीच चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्टमन्त्री एनपी साउँदले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो टोलीलाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै परराष्ट्रमन्त्री एनपी साउदले पनि चन्द्रयान अवतरण गरेको बधाई दिएका छन् । ‘चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरणका लागि हार्दिक बधाई १ यो हाम्रो मित्रराष्ट्र भारतका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा एउटा महत्वपूर्ण कोसेढुंगा पनि हो । जसले अन्ततः हाम्रो जीवनलाई अझ राम्रो बनाउन योगदान पुर्याउँछ,’ परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
