Loading

अमरेन्द्र यादव

 

२०६३ साल चैत ७ गते बुधबार । नेपालको राजनीतिक इतिहासमा यही दिन फोरम र माओवादीबीच हिंस्रक भिडन्त भएको थियो, रौतहटको गौरमा । जसमा २७ जनाको ज्यान गएको थियो । करिब ४० जना घाइते भएका थिए । त्यसलाई आज पनि गौर घटना वा गौर हत्याको रूपमा चिनिन्छ ।मधेसी जनअधिकार फोरमले दुई साताअघि नै रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राइस मिल मैदानमा चैत ७ गते आमसभा गर्ने घोषणा गरेको थियो । लहान, विराटनगर, भैरहवा र नेपालगञ्जमा फोरमसँग निहुँ खोज्दै र भिडन्त गर्दै आएको माओवादीले दुई दिनअघि मात्रै फोरमको आमसभासँग जुधाएर चैत ७ गते नै त्यही स्थानमा कार्यक्रम गर्ने घोषणा ग¥यो । माओवादीका केही नेताहरूले फोरमको आमसभासँग जुधाएर त्यसरी कार्यक्रम नगर्न रौतहटै घर भएका साह थर भएका माओवादीका तत्कालीन केन्द्रीय नेतालाई सल्लाह दिएका थिए । आफ्नो हठ र तत्कालीन माओवादी पार्टीको उर्लदो उन्मादका कारण त्यो साह थरका नेताले उक्त सल्लाहलाई मानेनन् । जसरी विराटनगर, भैरहवा र नेपालगञ्जमा फोरमको आमसभा र कार्यक्रमलाई माओवादीले बिथोलेको थियो, त्यसरी नै फोरमको उक्त आमसभालाई बिथोल्ने हठ साह थरका नेताले गरेका थिए ।

फोरमले आमसभा गर्ने मिति, स्थान र समयमै आफ्नो पार्टीको आमसभा गर्ने हठ त्यो साह थरको नेताले त्यागेको भए त्यस्तो अकल्पनीय र दूर्भाग्यपूर्ण घटना नेपालको इतिहासमा घटित हुने थिएन । माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाले आमसभा गर्ने दिन अर्थात् चैत ७ गतेभन्दा एक दिनअगाडि ती साह थरका नेताले दुई ट्रक वाइसिएलका लडाकु कार्यकर्ता विभिन्न जिल्लाबाट ल्याएर गौरमा ओरालेका थिए । त्यसमध्ये अधिकांश वाइसिएल कार्यकर्ता गैरमधेसी अनुहारका थिए । ती वाइसिएल कार्यकर्ता सर्लाही, सिन्धुली, मकवानपुर, चितवन र दाङलगायतका जिल्लाबाट ल्याइएका थिए । फोरमको आमसभामा सहभागी हुने सबै कार्यकर्ता र शुभचिन्तकहरू भने रौतहट जिल्लाकै थिए ।

गौरको ऐतिहासिक राइसमिलको दक्षिणी भागमा आमसभा गर्न फोरमले मञ्च बनाएको थियो भने माओवादी अर्थात् मधेसी राष्ट्रिय मुक्ति मोर्चाले राइसमिल चौरको उत्तरी भागमा आफ्नो मञ्च बनाएको थियो । दुई मञ्चबीचको दुरी मुस्किलले सय मिटर थियो । फोरमले आमसभा गर्ने समय थियो दिउँसो २ बजे । माओवादीले पनि त्यही समयमा आफ्नो आमसभा गर्ने तयारी गरेको थियो । त्यसरी फोरमको आमसभाको मिति, स्थान र समयसँग जुधाएर मधेसी राष्ट्रिय मुक्ति मोर्चाले कार्यक्रम तय गर्नुमा तत्कालीन माओवादीको दम्भ र त्यसमा पनि त्यो साह थरको नेताको हठले काम गरेको थियो ।

गौर घटनापछि संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगकी नेपाल प्रमुख लेना सुन्धले त्यस घटनाको भत्र्सना गरेकी थिइन् । उच्च आयोगकी प्रमुख सुन्धले विज्ञप्ति जारी गर्दै माओवादीको केन्द्रीय र स्थानीय इकाईलाई तत्काल यस प्रकारको हिंसा अन्त्य गरी संवादबाट समस्याको समाधान खोज्न आग्रह गरेकी थिइन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगकी नेपाल प्रमुखको भनाइले पनि गौर घटनामा माओवादीको बलजफ्ती र ज्यादती प्रमुख कारक रहेको बुझिन्छ ।

फोरमले आफ्नो आमसभा गर्ने स्थानमा माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाले पनि आफ्नो कार्यक्रम गर्ने उद्घोष गर्दा स्थानीय प्रशासनले रोकेन । दिनको २ बजेकै समयमा फोरमको कार्यक्रमसँग जुधाएर माओवादीले आमसभा गर्न लाग्दा पनि स्थानीय प्रशासनले प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेन । यस्तो अकल्पनीय र हिंस्रक घटना घटित हुनुमा ती साह थरको नेताको हठले मात्रै काम गरेको देखिँदैन, स्थानीय प्रशासनको लापरवाही पनि प्रमुख कारक रहेको देखिन्छ ।

गौर घटनापछि संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त लुइस आर्बरले गौर क्षेत्रमा प्रयाप्त संख्यामा सुरक्षाकर्मी उपस्थित भए पनि घटनास्थलमा थोरै संख्यामा मात्र सुरक्षाकर्मी खटाइएको तथ्य फेला परेको बताएका थिए । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त लुइस आर्बरको भनाइले पनि गौर घटना रोक्न नसक्नुमा स्थानीय प्रशासनको लापरवाहीले भूमिका खेलेको बुझिन्छ । मधेस विद्रोह आरम्भ भएदेखि नै माओवादीले फोरमसँग भिडन्त र झडप गर्दै आएको थियो । लहान, विराटनगर, भैरहवा र नेपालगञ्जलगायतका स्थानमा फोरमको सभा र सम्मलेन माओवादीले बिथोल्दै आएको थियो । ती स्थानहरूमा पनि स्थानीय प्रशासन र प्रहरी मुकदर्शकजस्तै बनेको तत्कालीन पत्रपत्रिकाहरूका समाचार हेर्दा सजिलै थाहा हुन्छ ।रौतहट घर भएका र नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपालले गौर घटना घटित हुनुमा सरकारी पक्ष र स्थानीय प्रशासनबाट कमजोरी भएको बताएका थिए । यस्तै, कान्तिपुरमा लेख प्रकाशित गर्दै पत्रकार सुजित महतले गौर घटनाअघि माओवादीले भैरहवा र नेपालगञ्जमा समेत फोरमको सभा बिथोलेको बताएका थिए । महतका अनुसार सभा, सम्मेलन गर्ने अरूको अधिकारमा माओवादीले धाबा बोलेको थियो र आफ्नो प्रभाव क्षेत्रमा माओवादीले फोरमलाई कार्यक्रम गर्न दिएको थिएन ।

अन्तरिम संविधानमा संघीयतालाई स्थापित गर्न माओवादीले अडान नलिएको भन्दै फोरमका कार्यकर्ता र आममधेसी जनता माओवादीप्रति पहिलेदेखि आक्रोसित थिए नै । लहान, विराटनगर, भैरहवा र नेपालगञ्जमा आफ्नो आमसभा र कार्यक्रम बिथोलेको भन्दै फोरमका कार्यकर्ता र मधेसी जनता माओवादीप्रति झनै आक्रोशित बनेका थिए । उनीहरूको मनमा माओवादीप्रति एक किसिमको बदलाभाव उत्कर्षमा थियो । त्यसैको परिणाम होला, माओवादीसँगको दुःखान्त झडपमा त्यस दिन गौरमा फोरमका कार्यकर्तालाई आक्रोशित सर्वसाधारण मधेसी जनताले पनि साथ दिएका थिए ।

चैत ७ गते अर्थात् गौर घटनाको दिन फोरम र माओवादीमध्ये आफ्नो अडानबाट कोही पनि पछि नहटेकाले त्यो दुर्भाग्यपूर्ण घटना घटित भएको हो । जसमा माओवादीका २७ जनाको ज्यान गएको थियो । मृतक र घाइतेहरू सबै वाइसिएलका कार्यकर्ता थिए । माओवादीको तयारीलाई नियाल्दा त्यसदिन स्थानीय सर्वसाधारण जनताले साथ नदिएको भए फोरमका कार्यकर्ताहरू मारिने निश्चित थियो ।

प्रभु साह फेरि पनि सांसद छन् । उनकी श्रीमती पनि फेरि मेयर छिन् । तैपनि प्रभु साहजी सन्तुष्ट छैनन् । किनभने उनको राजनीतिक जीवनमाथि संकटको बादल मडारिएको छ । प्रभु साह लगातार चौथोपटक सांसद बनेका छन् । उनी आफ्नै खल्तीको पार्टीको अध्यक्ष पनि छन् । तैपनि उनको मनमा आराम छैन । किनभने उनी आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कमजोर अवस्थामा आइपुगेका छन् ।

उनी साह माओवादीमा थिए । माओवादी र एमाले एकीकरणपछि उनी नेकपामा आए । नेकपा फुटेपछि उनी एमालेतिर लागे । एमालेमा भाउ नपाएपछि आफ्नै पार्टी बनाए । आफ्नै पार्टीमा पनि एक्लै भएपछि प्रभु साह अहिले विचलित भएका छन् । गत मंसिर ४ को निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउँदा स्वतन्त्र सांसद प्रभु साहले मन्त्री पदको लोभमा प्रचण्डलाई समर्थन दिए । तर प्रचण्ड र ओलीले उनलाई मन्त्री बनाएनन् । पछि प्रचण्डले गठबन्धन बदल्दै कांग्रेससँग मिलेर सरकार बनाए । फेरि पनि मन्त्रीको लोभमा प्रभु साहले प्रचण्डलाई समर्थन दिए । फेरि पनि प्रचण्ड र देउवाले उनलाई मन्त्री बनाएनन् ।

प्रभु साह ‘मरता क्या न करता’ भन्ने अवस्थामा पुगेका छन् । ‘डुबतेको तिनकाका सहारा’ भन्नेझैँ मधेस उनको लागि अन्तिम सहारा बनेको छ । मधेसलाई आधारभूमि बनाएर प्रभु साहले आफ्नो राजनीतिक भविष्य चम्काउन खोजेका छन् । तर उनलाई मधेसमा आफ्नो राजनीतिक भविष्य चम्काउन त्यति सजिलो छैन । किनभने न त उनले मधेसी जनतामाथि कहिले विश्वास गरे । न त मधेसका मुद्दामाथि कहिल्यै प्रतिबद्ध देखिए । मधेस आन्दोलनका उनी विरोधी नै थिए । उनकै हठ र माओवादीको घमण्डको कारण गौर हत्याकाण्डको परिस्थिति निर्माण भएको मधेसका बच्चाबच्चाले बुझेका छन् ।

माओवादीको ‘जनयुद्ध’कालमा र त्यसपछि पनि प्रभु साहले मधेसका सयौं सर्वसाधारणलाई सताएको र दुःख दिएको दर्जनौँ दृष्टान्त जनश्रुतिमा आज पनि उपलब्ध छन् । अनेकौँ व्यक्तिको हत्यामा संलग्न रहेको आरोपले उनलाई लखेटिरहेको मात्र छैन, उनको राजनीतिक भविष्यलाई उठ्न पनि दिइरहेको छैन । त्यसैले प्रभु साहले मधेस आन्दोलनका सर्वोच्च नेता उपेन्द्र यादवलाई विभिन्न बहानामा परेशान गर्न चाहेका छन् । त्यसैले प्रभु साहले मधेस राजनीतिको सबैभन्दा ठूला नेता एवं जसपा अध्यक्ष यादवलाई जसरी पनि घेराबन्दी गएर उनको राजनीतिक उचाइ घटाउन चाहेका छन् ।

तर उपेन्द्र यादवको कद घटाएर वा उनलाई विस्थापित गरेर मधेसमा आफ्नो राजनीति स्थापित गर्ने प्रभु साहको मनसुवा पूरा हुने छैन । किनभने मधेस विद्रोहको नेतृत्व गरेदेखि नै मधेसका सर्वाधिक सफल नेता उपेन्द्र यादवलाई राजनीतिक रूपमा समाप्त पार्न दर्जनौँपटक प्रयास भएका हुन् । तर उनलाई विस्थापित गर्न खोज्ने गच्छदार, गुप्ता, महतो र ठाकुरहरू आफैँ समाप्त भएर गएका छन् ।

 

सौर्य अनलाइनबाट