![]()
टीकापुर, ३१ साउन/प्रस्तावित राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुरका संस्थापक योगगुरु स्वामी पृथ्वी श्री महाराजले रोगको मूल जड शरीर नभई मन भएको बताउनु भएको छ ।
बुधबार बिहान टीकापुरस्थित सन्त निरंकारी पब्लिक हाइस्कुलको हलमा नियमित भइरहेको योगाभ्यास कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
स्वामी श्रीले मनबाट सोच उत्पन्न हुने र सोच अनुसार नै मानिसको आहार विहार हुने भएकोले सही विचार नहुनुले मन र सही खानपान नहुनुले शरीरमा रोग उत्पन्न गरेको बताउनुभयो ।
‘आजको मानिस शरीरको उपचारका लागि मात्र यताउता दौडिने गरेको छ तर त्यसको जड (मुख्य कारण) मनको उपचारका लागि कुनै प्रयास नै गर्दैन । जबसम्म पहिले मनमा रहेको रोगको उपचार गरिदैन तबसम्म तनको पनि रोग समाप्त हुँदैन । त्यसैले पहिले मनको उपचार हुन जरुरी छ, मनको उपचार भइसकेपछि शरीरको उपचार त सामान्य कुरा हो’ उहाँले भन्न्ुभयो ।
यस्तै उहाँले सेतो पहिरन शुद्धता र स्वच्छताको प्रतीक भएकोले योगाभ्यास गर्दा सेतो पहिरन नै उपयुक्त हुने बताउनुभयो । ‘हुन त सबै रंग परमात्माका उपज हुन् यसमा कुनै भेदभाव छैन । तैपनि हरेक रंगको आ–आफ्नो महत्व हुन्छ । साँसारिक मोह मायालाई त्यागेर सन्यास धारण गरेको व्यक्तिलाई अर्थात आप्mनो जीवनमा क्रान्ति ल्याएको ब्यक्तिलाई गेरु(भगवा) रंगका बस्त्र जति शोभायमान हुन्छ त्यस्तै योगाभ्यास गर्नेहरुका लागि पवित्रताको प्रतीक रहेको सेतो बस्त्र नै उपयुक्त हुन्छ’ उहाँको भनाई थियो ।
स्वामी श्रीले भन्न्ुभयो कि, ‘‘आज मानिसले खान नपाएर भन्दा पनि खान नजानेर शरीरको रोग बढाइरहेका छन् । त्यसका लागि पहिले मनको अवस्था सही हुन जरुरी छ । मनको अवस्था सही हुनका निम्ति ज्ञानको आवश्यकता छ । ज्ञानबाट मात्र आफूलाई चिन्न सकिने र आफ्नो परमपिता परमात्मालाई चिन्न सकिने भएकोले मनमा विवेकको लगाम लगाउन सकिन्छ ।’’
योगगुरु श्री को भनाई थियो कि, ‘त्यसैले म मानव हुँ, मानवले के गर्नु पर्छ र के गर्नु हुँदैन भन्ने कुरा केवल ज्ञानद्वारा मात्र सम्भव हुन्छ । ज्ञानद्वारा नै विवेक पनि जागृत हुने भएकाले मनमाथि लगाम लाग्छ र उचित कार्य गर्ने र अनुचित कार्य नगर्ने स्वभावको विकास हुन्छ । सबैको हीतका लागि गरिने यस्ता उत्तम कार्यहरु जब मानिसले गर्न थाल्छ तब उसको मन निरोगी भएको ठहर्दछ’ ।
‘जब मन निरोगी हुन्छ तब तन त सामान्य रुपमा निरोगिता बन्दछ । तब मात्र ऊ सही रुपमा योगी भएको ठहर्दछ, त्यसका लागि सबै मानिस जागृत हुन आवश्यक छ सबैका लागि योग आवश्यक छ । सबैका लागि निरोगिता आवश्यक छ,’ स्वामी पृथ्वी श्रीले बताउनु भयो ।
हरेक दिन बिहान गरिने २ घण्टाको समयले बाँकि २२ घण्टालाई स्वस्थ राख्न सकिने भएकोले नियमित रुपमा योगाभ्यासमा आउन आग्रह गर्नुभयो । उहाँले प्रकृति अनुसार जीवनलाई चलाएर शरीर स्वस्थ राख्न सकिने भएकोले अतिआवश्यक काम बाहेकको अवस्थामा दिउँसो नसुत्ने र सुर्यास्त पूर्व नै खाना खाइसक्नु पर्ने उहाँले बताउँनुभयो ।

