Loading

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को यस वर्षको परीक्षाफल सार्वजनिक गरेको छ । ।

मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक  गरेको हो । उक्त कुराको जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जंगबहादुर अर्यालले दिएका हुन् । बैठकपछि पत्रकार सम्मलेन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।

यसरी हेर्न सकिन्छ परीक्षाफल:

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।