Loading

काठमाण्डौ/आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा सम्पन्न संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको हो।

घोषणाअनुसार तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. २ मा पार्टी सभापति रवि लामिछाने र बारा क्षेत्र नं. २ मा रमेश खरेलले उम्मेदवारी दिने भएका छन्। पार्टीका नेता शिशिर खनालले उनीहरुलाई पार्टीको लोगो भएको ब्याच लगाएका थिए । वाग्ले र खरेल आजै मात्रै रास्वपामा प्रवेश गरेका हुन्। केन्द्रीय कार्यालयले उनीहरुलाई आज चुनावको टिकट दिएको छ। यसअघि वाग्ले नेपाली काँग्रेस र खरेल हाम्रो सुशासन पार्टीमा रहेका थिए ।

हाम्रो सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल भने गत मंसिरको चुनावमा काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।

रास्वपा पार्टी सभापति लामिछाने भने गत निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनी नागरिकता मुद्धामा अदालतबाट दोषी ठहरिएपछि गृहमन्त्री सहित साँसदबाट पदमुक्त भएका थिए । यसैगरी वाग्ले लड्न लागेको तनहुँ १ भने प्रतिनिधि सभा सदस्य रहेका माननीय रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको थियो ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता काण्डलाई लिएर उक्त पार्टीलाई जनताले केकति समर्थन गर्छन् भन्ने अडकलबाजी चलिरहेको छ । उपनिर्वाचनमा सो पार्टीलाई तीनवटै क्षेत्रमा मतदाताले अनुमोदन गरेका यो पार्टीमा थप केही युवा नेताहरु प्रवेश गर्ने देखिएको छ । अनुमोदन नभए अन्य पार्टीहरु राप्रपा, नागरिक उन्मुक्ति र जनमत पार्टीमा आर्कषण बढ्ने विश्लेषण गरिएको छ ।