Loading

काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका नेता भीम रावलसँग ‘संवाद गर्न’ पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले सो टोली गठन गरेको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
‘कमरेड भीम रावलसँग ‘संवाद गर्न’का लागि र एउटा सहमतिमा पुग्नका लागि अहिलेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेशको पार्टीको अनुगमनका लागि जानुभएका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाएका छौँ’, उनले भने।
गुरुङका अनुसार टोलीले रावलसँग कुराकानी गरेर आवश्यक टुंगोमा पुग्ने र त्यसपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गर्ने भनेर निर्णय गरिएको छ।
दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका रावल पराजित भएका थिए। त्यसपछि उनले अध्यक्ष ओलीका कतिपय निर्णय र अभिव्यक्तिको सार्वजनिक रुपमै टिप्पणी गर्ने गरेका छन्। उनले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि टिकट पाएका थिएनन्। जसलाई ओलीसँगकै अन्तरविरोधको कारणको रुपमा हेरिएको थियो।
यसै साता मिशन ग्रासरुटका लागि अछाम पुगेका उपाध्यक्ष पौडेल उपस्थित कार्यक्रममा रावल समर्थक कार्यकर्ताहरुले पार्टी अध्यक्ष ओली र उपाध्यक्ष पौडेल विरुद्ध नारा लगाएका थिए । त्यस विषयलाई लिएर धनगढीमा रावल र उपाध्यक्ष पौडेलले अलगअलग पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनबाटै दुवैबीच पनि अप्रत्यक्ष वादविवाद भएको थियो। जसप्रति उपाध्यक्ष पौडेलले सार्वजनिक रुपमै रावलले गल्ती गरेको नसच्चिए कारवाही गरिने बताएका थिए। यता रावलले एमालेमा हदैसम्म पेलिएमा आपूmले नयाँ कदम चाल्न सक्ने बताएका थिए ।
नजिकिदै गएको उपनिर्वाचनलाई मथ्थर पार्न वार्ता टोली गठन गरिएपनि अन्ततः रावललाई पार्टीबाट निकालिने आँकलन गरिएको छ । यस्तै रावलले पनि सकभर नयाँ पार्टी खोल्ने नभए माधव नेपालको एकीकृत समाजवादीमा जाने आँकलन गरिएको छ ।