Loading

काठमाडौं । देशले तेस्रो राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् ।

३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसद्का २ सय १४ सांसद र प्रदेशसभाका ३ सय ५२ सदस्यले मत दिएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

एमाले उम्मेद्वार नेम्वाङले १५ हजार ५ सय १८ मत भार पाए । उनलाई संघीय संसद्का ९६ जना सांसद र प्रदेशसभाका १ सय ६२ सदस्यले मत दिएका हुन् ।

बिहीबार भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित भएका थिए । राष्ट्रपति निर्वाचनमा कुल ८ सय ८२ मतदाता छन् । तर, मतदानमा भने ८ सय ३१ मत खसेको थियो । निर्वाचन आयोगका अनुसार संघतर्फ ३ सय १३ र प्रदेशतर्फ ५ सय १८ मत खसेको हो ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३ सय ३४ सदस्य छन् । यसमध्ये बिरामीद्वय कांग्रेसका डा।चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन र मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मी महतो कोइरीको अनुपस्थित रहे भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ ।

यसैगरी राप्रपा १४ जना सांसदहरू राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशाले राष्ट्रपति निर्वाचनलाई बहिष्कार गरे । उनीहरूले पार्टीको निर्णयअनुसार बहिष्कार गरेका हुन् ।
राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे । प्रदेशसभातर्फ राप्रपाका २८, नेमकिपाका तीन र जसपाका एक जना सांसद राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म २००१ साल असोजमा तनहुँ जिल्लाको रिस्ती गाविसमा भएको थियो । त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका पौडेलका समसामयिक राजनीतिसम्बन्धी पुस्तक प्रकाशन भएका छन् । उनका ‘प्रजातान्त्रिक समाजवाद : एक अध्ययन’ २०४६, ‘नेपाली कांग्रेस के भन्छ र?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ कृतिलगायत समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध विभिन्न लेख प्रकाशित छन् ।

०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि १६ वर्षको उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसले ०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेल सहभागी भएका थिए । ०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रूपमा उनले भूमिका निर्वाह गरेका थिए । ०२३ सालमा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वाचित भएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्व लिएका थिए ।

०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भएका पौडेलले ०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापनामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा ०३४ सालमा निर्वाचित भएका पौडेल ०३६ सालमा जिल्ला उपसभापति र जनमतसंग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भएर बहुदलका पक्षमा जनमत निर्माणमा योगदान पुर्याए ।

०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र ०४४ सालमा केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष संघर्ष गरी ०४६ सालमा प्रजातन्त्र स्थापनापछि ०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वाचित भएका थिए । संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हालेका नेता पौडेलले ०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिएका थिए ।

०५१ सालको मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वाचित भएपछि उनले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गरे । ०५६ सालको संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद निर्वाचित भएका नेता पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह एवं सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

०६२ सालमा कांग्रेसको महामन्त्री भएका नेता पौडेलले ०६३ सालमा पुनःस्थापित संसद्को सदस्य भई तत्कालीन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउनुका साथै शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गरेका थिए ।

माओवादीसमेत संलग्न भई ०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै गरेका थिए । ०६४ सालमा कांग्रेस उपसभापति भएका नेता पौडेल ०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथोपटक सभासद्मा निर्वाचित भएका थिए । ०६५ सालमा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका पौडेल ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ नं क्षेत्रबाटै पाँचौँपटक सभासद्मा निर्वाचित भए ।

निरंकुश राजतन्त्रविरुद्ध लड्ने क्रममा ०१९ देखि ०४६ सालसम्म पटकपटक गरी १३ वर्ष राजनीतिक बन्दीका रूपमा कारागार बसेका थिए उनी । स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक मान्यता राख्ने पौडेल जनएकता भए मात्र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्दछन् । न्यूनतम आधारभूत आवश्यकताका सामग्रीबाट वञ्चित तथा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने पनि उनको मान्यता छ ।

नेपाली कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाको निरन्तर सहयोगीका रूपमा रहेका पौडेलले सुशील कोइरालाको निधनपछि कोइराला विरासत केही समय थामेका थिए ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै बिहीबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।’

त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेर मात्रै काम गर्न आग्रह गरेका छन् ।‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार पौडेल निर्वाचित भएपछि नेपालले भने ।

राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविकरूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ ।
यस्तो छ, पौडेलको राजनीतिक जीवन

२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए । १२ औं महाधिवेशनबाट उपसभापति बनेका पौडेलले कार्यवाहक सभापतिको हैसियतमा २०७२ सालमा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेका थिए ।

पौडेलले राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म अनेक पटक गरी झण्डै १५ वर्ष जेल जीवन बिताएका छन्। उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भएर जेल परेका थिए ।

उनी कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोधमा कार्यक्रम गर्दा गिरफ्तार भएर २०२८ बाट २०३२ सम्म जेल परेका थिए ।

पौडेल २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनले स्थानीय विकासमन्त्री, कृषि तथा सहकारीमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, सञ्चारमन्त्री, जलस्रोत, शिक्षामन्त्री र उपप्रधान तथा शान्ति पुनःनिर्माणमन्त्री भएर सरकार सञ्चालनको अनुभव बटुलिसकेका छन् ।

प्रतिनिधि सभाका पूर्वसभामुखसमेत रहेका पौडेल मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भइसकेका छन् ।

उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जनबढी पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक तथा अनलाइन मिडियाहरूमा समसामयिक लेखहरु प्रकाशित छन् ।

तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यस्थता गरेकाले उनलाई कांगे्सभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छ ।

सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका पनि उनले खेलेका थिए। उनी १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकारमध्येमा पनि पर्दछन् ।

पौडेल ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार पनि मानिन्छन् ।

तर उनी यसअघि पार्टी र सरकार दुवैतर्फ सर्वोच्च नेतृत्वमा पुग्न भने उनी असफल रहँदै आएका थिए। २०६७ सालमा प्रधानमन्त्रीका लागि उनले १७ पटक प्रतिस्पर्धा गरे। तर, सो पदमा उनी पुग्न सफल भएनन् ।

त्यस्तै पार्टी सभापतिको चुनाव पनि उनले हारे। त्यसैले कतिपयले उनलाई असफल नेताका रुपमा लिने गरेका थिए । तर, राजनीतिक जीवनको उत्तरार्धमा उनी मुलुककै सर्वोच्च पदमा निर्वाचित भएका छन् ।

२००१ असोज २९ गते तनहुँको मिलुङ्, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) मा आमा ऋषिमाया र बुबा दुर्गाप्रसादको कोखबाट मध्यमवर्गीय किसान परिवारमा जन्म भएको थियो । सविता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका पौडेलका चार छोरी र एक छोरा छन् ।

तनहुँको व्यास नपा–२ अमरापुरी बसोबास भएका नेता पौडेल काठमाडौँको बोहराटारमा बस्दै आएका छन्। उनले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक संलग्नता

हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६। पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठरअसारमा नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि ।

२०१७ पुस १ गते जननिर्वाचित संसद् भंग गरी प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी ।

नन्दी रात्रि माविबाट एसएलसी परिक्षा उत्तीर्ण । नन्दी रात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष ।

रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष ।

जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व।

२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९र०२० सालमा उपत्यका आन्दोलनमा गिरफ्तार । २०२०र०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार ।

गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३ ।

सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३ ।

प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४ ।

नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ ९संघको स्थापनामा मुख्य भूमिका निर्वाह० ।

नेपाली कांग्रेस तनहुँको सदस्य ९२०३४० र जिल्ला उपसभापति ९२०३६० ।

जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली कांग्रेस तनहुँ समितिको संयोजक २०३७ ।

नेपाली कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४० ।

नेपाली कांगेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३ ।

नेपाली कांगेस केन्द्रीय महामन्त्री, ९२०६२–२०६४० ।

नेपाली कांगेस केन्द्रीय उपसभापति, ९२०६४–२०७२० ।

नेपाली कांग्रेस संसदीय दलको नेता, ९२०६४–२०७०० ।

नेपाली कांगेस केन्द्रीय कार्यवाहक सभापति, २०७२ ।

नेपाली कांग्रेस केन्दीय सदस्य, हालसम्म ।

जेल जीवन

–भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा २०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय ।

–विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१

–डीआईजी काण्डमा गिरफ्तार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग भेट, २०२३

–प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ ९पोखरामा ९ महिना र काठमाडौंमा ६ महिना०

–प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२५र२०२६

–नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौंमा ३ महिना हिरासत, २०२७

–रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी।

–नेपाली कांग्रेसको पटना सम्मेलन ९सन् १९७७० मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत। यसै सम्मलेलनद्वारा नेपाली कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।

–जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहेकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत ।

–पञ्चायती व्यवस्थाअन्र्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली कांगे्रसको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ। ६ महिना हिरासत ।

–पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापनाका लागि कांग्रेसले गरेको सत्याग्रह ९२०४२० सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार। ९ महिना हिरासत, २०४२

–२०४६ सालको जनआन्दोलनमा कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लंघन गरेको अभियोगमा ३ महिना हिरासत, २०४५

–बहुदलीय व्यवस्थाको पुनस्र्थापनार्थ धौलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा गिरफ्तार गरी बागलुङ जेलमा ५ महिना हिरासत, २०४६

–शाही कदम ९२०५९० पछि करिब एक वर्ष नजरबन्द र हिरासत, २०५९

–दोस्रो जनआन्दोलन २०६२र२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको

–यी लगायत छोटो समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको।
सौर्य अनलाइनबाट