Loading

टीकापुर । नेपाली कांग्रेसले कैलालीबाट समानुपातिक साँसद ईश्वरी न्यौपानेलाई प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनाउने भएको छ ।
बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए । सोही बैठकमा न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो ।
पदाधिकारी बैठकअघि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार प्रतिनिधिसभामा सभामुखका लागि मतदान हुनेछ ।
कैलालीको भजनी नगरपालिका वडा नं ८ गोरचौरा गाउँमा घर भएकी न्यौपाने यसअघि २०७० को संविधान सभामा पनि समानुपातिक तर्फबाट संविधान सभा सदस्य र सिंसदमा विधायिका साँसद रहिसकेकी हुन् । तर २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने भारी मतान्तरले तत्कालीन राष्टिय जनता पार्टीका उम्मेद्वार रेशम चौधरी(हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षक)सँग पराजित भएकी थिइन् ।

सत्ता गठबन्धनबाट देवराज घिमिरे उम्मेदवार

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको हो ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ । यसअघि एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागेका हुन् ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।