Loading

काठमाडौं । नेत्र वरिष्ठ विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित सो अवार्ड मानवीय सेवातर्फको विधाबाट डा. रुइतलाई सम्मान गर्न लागिएको हो । स्वर्ण पदकसहित १० लाख डलर राशीको यो सम्मान उनलाई विश्वका १३९ जना मनोनयनकर्ताहरुमध्ये उत्कृष्ट भएपछि प्रदान गर्न लागिएको हो । नेपाली रुपैयाँ अनुसार यो रकम १३ करोड ४० लाख बराबर रहेको छ ।

डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेपछि उनको चर्चा विश्वस्तरमा भएको छ । रुइतका कारण नै विश्वका धेरै देशका निम्न वर्गका मानिसहरु पनि सहजै दृष्टि पाएका छन् । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ । डा. रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

डा. रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘ईतेक्टोमी’का सुरुवातकर्ता पनि हुन्। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।
डा. रुइत तमोरखोलाको शिरमा रहेको ओलाङचुङ गोलामा हुर्किए, जहाँ पुग्न अहिले पनि जिल्ला सदरमुकामबाट चार दिन लाग्छ। बुबा सोनाम, नेपाल-तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्दथे। बुबाका ६ मध्ये तीन छोराछोरी कलिलैमा बिते। डाक्टर् बन्ने सपना भएका उनी जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगे। त्यहाँको मिसनरी स्कूल सेन्ट रोबर्ट्समा भर्ना भए सन् १९६२मा चीन र भारतबीच सीमा युद्ध भयो र ती युद्धसँगै दार्जलिङका स्कूल बन्द भए। उनलाई बुबाले काठमाडौँ ल्याएका थिए र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिए । सन् १९७०मा सिद्धार्थ वनस्थली स्कूलबाट उनी पहिलो श्रेणीमा एसएलसी पास भए ।

त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा जनरल फिजिसियन का रूपमा तीन वर्ष बिताए। फेरि भारत गए र ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ (एम्स)मा एमडी पढ्न थाले। तीन वर्ष एम्समा पढेपछि १९८४ मा नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागिरे भए। त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७ मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए। अस्ट्रेलिया बसेकै बेला उनलाई अमेरिका-युरोप-अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो। उनले ती प्रस्तावलाई हेरेनन् र नेपालमै आए।

उनले एउटा आँखा अस्पतालको सपना देखेको थिए, जसलाई अस्ट्रेलियाका डा. हलोजले साथ दिए। यो अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा. रीता गुरुङ लगायतले साथ दिएका थिए। यसरी १९९४ जुनमा जन्मियो-तिलगंगा आँखा केन्द्र जुन अस्पताल अहिले मानव संसाधन तालीम केन्द्र बनेको छ।