![]()
वेला आउँछ जान्छ मानिस भने हेला गरी बस्दछ
जो बुझ्दैन महत्त्व यो समयको ऊ गर्तमा खस्दछ।
माने स्वर्णिम रत्न हो समय यो उड्ने सुनौलो चरी
पानी वायु थुनिन्छ खै समय यो रोकिन्न केही गरी ।।
साना बालक हुर्किई समयले बन्छन् युवा कर्मठ
बन्दै पूर्ण वयस्क मानिसहरू हुन्छन् बुढा अन्तत:।
पानीतुल्य पिँडालु पातबिचको टिक्तैन पक्कै बढी
पैसा शक्ति उमेर प्राप्ति पदवी सत्ता रहन्नन् अडी।।
वर्षाका खहरे सुके हिउँदमा खोला कुलाझैँ भए
सानाका गुरु- शिष्य नै बदलिई चेला ठुलाझैँ भए ।
वेला निर्मम वा नियामक हुँदा मान्छेहरू त्रस्त छन्
छोरा बन्दछ बाबु,बाबु सजिलै बाजे बनी बस्दछन् ।।
रित्ता वृक्ष खडा भए शिशिरमा खेलेर हारी जुवा
आयो फेरि वसन्त उम्रिन पुगे नौला सयौँ पालुवा ।
चौतारी जनशून्य माघ पुसमा प्यारो छ वैशाखमा
ढोकासम्म पुगेर चिन्न नसके गर्दैन मौका क्षमा ।।
मान्छे थुन्न प्रयास गर्दछ सधैँ चल्ने बनाई घडी
हेरी कर्म विराम के समयले हान्दै छ उल्टो छडी ।
बन्दी हुन्न चलायमान छ सधैँ आफ्नो छ भिन्नै गति
हेला गर्न सराप्न कोसिस गरे बेहोर्छ उल्टै खति ।।
वासुदेव पाण्डेय, बैतडी (हाल सुर्खेत)
