![]()
टीकापुर/ राष्टिय आधारभूत विद्यालय जानकी, २ खैरेनीको शुक्रबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि ४ जना सदस्यहरु छनौट गरेको छ । विगत लामो समयदेखि व्यवस्थापन समिति अध्यक्ष रहेका चक्रबहादुर विष्ट वडा अध्यक्षमा निर्वाचित भइसकेकाले आगामी कार्यकालका लागि नयाँ अध्यक्षका लागि अभिभावक समितिको भेला भएको हो ।
वडा अध्यक्ष पदेन व्यवस्थापन समितिमा सदस्य रहने भएकाले पनि व्यवस्थापन समितिको पदावधी समाप्त भएसँगै विष्टले व्यवस्थापन समिति अध्यक्ष पद छोडेका हुन् । शुक्रवारको भेलाले आगामी कार्यकालका लागि नयाँ अध्यक्ष चयन गर्नेछ । आज चयन भएका सदस्यहरुमा रेखा जोशी, सरस्वती मल्ल, शारदा सार्की र खुसीराम चौधरी अभिभावकहरुबाट रहेका छन् भने शिक्षक प्रतिनिधिमा शान्ता मल्ल चयन भइन् भने निवर्तमान अध्यक्ष चक्र विष्ट वडाध्यक्ष रहेकाले स्थानीय पालिका प्रतिनिधि रहेका छन् ।

उक्त ६ सदस्यीय समितिले दुइृजना सदस्य मनोनित गर्नेछ भने व्यवस्थापन समिति अध्यक्ष पनि समितिभित्रैबाट चयन गर्नेछ । आगामी आइतबार समितिको बैठक बसी मनोनित सदस्य तथा अध्यक्ष चयन गर्ने सदस्य सचिव रहेका विद्यालयका प्रधानाध्यापक वासुदेव रेग्मीले बताए ।

भेलामा निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष चक्र विष्ट सदस्यहरु तुलसी चौधरी, शान्ति कामी, नन्दराम जोशी, झंकरबहादुर सोडारी, टंकदेवी भुल र शिक्षक प्रतिनिधि भक्तबहादुर बोहरालाई सम्मानपत्र प्रदान गरिएको थियो । जानकी गाउँपालिकाका शिक्षा विभाग प्रमुख विद्यालय निरीक्षक शंकर प्रसाद न्यौपानेले विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारका विषयमा मन्तव्य राख्दै निवर्तमान समितिका सबैलाई प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।
यसअघि निवर्तमान अध्यक्ष चक्र बहादुर विष्टले व्यवस्थापन समिति बिघटन भएको घोषणा गरेका थिए । शिक्षक अभिभावक संघको अध्यक्षताम भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक वासुदेव रेग्मीले गरेका थिए ।

