Loading

धनगढी : बिहीबार बिहान विद्यालय नजिकै ग्रेडरले किचेर मृत्यु भएकी १५ वर्षीया बालिकाका आफान्तले उनको शव बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार (आज) मृतक चेतना साउँदका आफन्तले शव बुझेका हुन्। मृतकका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि उनले शव बुझेको जोशीले बताए। शवको पोस्टमार्टम गरेरपछि मात्र दाहसंस्कार गरिने छ।
प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ। बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका(२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्। चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बैतडीको डिलासैनी गाउँपालिका ६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन। साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो।
प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकै अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनमा उत्रिएका २३ जना विद्यार्थीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई भने छाडिएको छैन्। नियन्त्रणमा लिइएकाहरूलाई रिहाइ गर्न माग गर्दै धनगढीमा अहिले पनि प्रदर्शन जारी छ।
आज बिहानैदेखि चेतनाको लागि न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए। चेतना धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।

दिनेशखबरबाट