![]()
टीकापुर। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हल्ला निराधार रहेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । केही दिनयता विभिन्न सञ्चार माध्यमहरुले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तत्काल एकता हुँदैछ भन्ने हल्ला केवल निराधार मात्र भएको नेकपा एसले जनाएको छ ।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै दुई पार्टी वीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यो हल्ला निराधार रहेको जनाएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा एकीकृत समाजवादी प्रस्ट रहेको भएपनि अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा सम्वाद नभएको एक महासचिव भुसालले भनेका छन् ।
यस विषयमा कसैले भ्रममा नपर्न आग्रह गर्दै उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’
तर यसअघि नेकपा एमालेबाट छुट्टिएको नेकपा एसले निर्वाचनमा मत आफ्नो पक्षमा नआउने भएपछि निर्वाचनपछि दुवै पार्टीवीच एकता हुने बताएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले सञ्चारकर्मीहरुलाई समेत यस कुराको जानकारी गराएका थिए । निर्वाचनमा समानेपातिक तर्फ नेकपा एसले सन्तोषजनक मत नपाएकोले अहिले बोलि फेरेको एक माओवादीका नेताले बताए । उनले हाम्रा मतले साँसद बनाएपछि अब कुरा फेर्न थालेका छन् हिजो ओलीले धोका दिए अब माधव नेपालहरु धोका दिँदैनन् भन्ने के ग्यारेण्टी छ भन्दै प्रतिप्रश्न गरे । उनले प्रचण्डको उदारताको सबैले फाइदा उठाउँदै आएको पनि बताए ।

