Loading

काठमाडौं । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले आफूले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको छ । उक्त घटनाबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद भएको महासंघले जनाएको छ ।

विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको महासंघले एक विज्ञप्तिमार्फत जनाएको छ ।

महासंघले उक्त घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।