![]()
टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवा करिब साढे १२ हजार मतान्तरले विजयी भएका छन् । उनले स्वतन्त्रका सागर ढकाललाई उक्त मतान्तरले पछि पारेका हुन् । देउवालाई हराएरै छाड्ने अठोट लिएका कर्णबहादुर मल्ल भने तेस्रो स्थानमै चित्त बुझाउन बाध्य भए ।
देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी हुँदा ढकालले १३ हजार ४२ मत र मल्लले ७ हजार ५३५ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ । देउवा पूर्ण बहुमतका साथ निर्वाचन जितेका छन् । देउवा हराउन डडेल्धुरा आए भनिएका सागर ढकाल देउवालाई हराउन नसकेपनि कर्णबहादुर मल्ललाई हराएर भने अवश्य फर्केका छन् ।
कसैले सागर देउवालाई नै जिताउन डडेल्धुरा आएको अनुमान पनि लगाउन थालेका छन् । मिलेमतोमा आएका थिए मल्ललाई हराएर उनी फर्किए एकजनाले बताए । तर ढकालले भने डडेल्धुराका जनता पैसामा बिक्ने गरेको आरोप लगाएका छन् । देउवा सर्मथकहरु प्रतिव्यक्ति पाँचहजारका दरले पैसा बाँड्न लागेको स्थानीयले सार्वजनिक गरेका थिए । मल्ललाई नेकपा एमाले साथ रहेपनि युवा पुस्तको साथ भने ढकाललाई नै रहेको देखियो ।
लगातार सातौं पटक संसदमा निर्वाचित भएका उनी एकमात्र त्यस्तो पात्र हुन् जो २०४८ सालको आम निर्वाचनदेखि अहिलेसम्म डडेल्धुराबाट निर्वाचन जितिरहेका छन् । २०६४ मा डडेल्धुरा सहित कञ्चनपुरबाट समेत दुई ठाउँबाट चुनाव जितेका देउवा २०७० मा भने कैलालीको धनगढी र डडेल्धुरा गरी दुबै स्थानबाट निर्वाचन जितेका थिए । २०७२ को संविधानले एक स्थानबाट मात्र निर्वाचन लड्न पाउने व्यवस्था गरेपछि उनी फेरि डडेल्धुराबाट मात्र निर्वाचन लड्दै आएका हुन् । देउवा निर्वाचन जिते पनि उनी डडेल्धेरेली जनताको मनमा भने बस्न सकेका छैनन् । बरु छोटो अवधिमा ढकाललले युवाहरुको मन जितेर गएका छन् ।
पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार वनेका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी भएका छन् । यस पटक उनी सातौँ पटक उहाँ विजयी भएका हुन ।
पाँच पटक देशको प्रधानमन्त्रीसमेत भएर इतिहास बनाएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराएका छन् । तर २०५९ सालमा आफै प्रधानमन्त्री हुँदा सिफारिस गरेको प्रतिनिधि सभाको निर्वाचन आफैले गराउन नसकेपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र वीरबिक्रम शाहबाट असक्षम घोषित हुँदै अपदस्थ गरिएका थिए । उनलाई प्रजातन्त्र दरबारमा बुझाएको आरोप समेत लाग्ने गरेको छ । यतिबेला पनि भतिजा प्रकाश देउवालाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन काँग्रेसका प्रभावशाली नेता रणबहादुर रावललाई हराउन भित्रभित्रै उनले एक टीम परिचालन गरेको आरोप लागेको छ । २०७४ को प्रदेश सभामा नेपाली काँग्रेसको संसदीय दलका नेता समेत रहेका रावल मुख्यमन्त्रीका लागि पहिलो दावेदार हुन् ।
प्रतिनिधि सभामा २०४८, २०५१, २०५६, २०७४ र २०७८ मा निर्वाचित भइ पुगेका उनी २०६४ र २०७० को संविधान सभामा निर्वाचित भएर संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । देउवा २०४८ को चुनाव पजितेपछि गृहमन्त्री भएका थिए । राणाखलकसंगको वैवाहिक सम्बन्धले आप्mनो वर्गीय धरातल परिवर्तन गरेपनि डडेल्धुरेली जनता र समग्र सुदूरपश्चिमको विकासमा खासै परिवर्तन गर्न नसकेको उनकै कार्यकर्ता समेत बताउँछन् । केवल प्रधानमन्त्रीजस्तो मान्छेलाई किन पराजित गरेर मर्ने बेलामा लाज गराउनु भनेर उनलाई यसपटक विदावारी गर्दै चुनाव जिताएको एक कार्यकर्ताले बताए ।
देउवाले अन्तिम कार्यकाल भनेकोले पनि अन्तिम पटक उनलाई जिताएको भएपनि यसपछि पुत्रमोहमा परेका आप्mना समकक्षी सरह उनले पनि छोरालाई डडेल्धुराबाट अघि बढाउन सक्ने सम्भावना रहेको एक नेताले बताए । धनगढीमा भतिजालाई अगाडि ल्याएर डडेल्धुराबाट छोरालाई बिरासत थमाउने उनको इच्छा रहेको अर्का नेताले बताएका छन् । यतिबेला देउवाको विरोध गर्न सुदूरपश्चिमका कांग्रेसी नेतालाई गाह्रो भएपनि पाँचवर्षपछि भने अवस्था त्यस्तो नरहने काँग्रेसका युवा नेताहरु बताउन थालेका छन् । लोकतन्त्रको वकालत गर्ने काँग्रेसमा तानाशाह बनेमा हामी चुप लाग्दैनौं राणा र राजा फालेको काँग्रेसलाई एक देउवा फाल्न कुनै समय लाग्ने छैन उनले भने ।
