Loading

काठमाडौं, ४ मंसिर । नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार साँझ रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । लिग–२ सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव रहनुभएको छ ।
नामिबिया भ्रमणको तयारीका लागि नेपालले हालै त्रिवि मैदान कीर्तिपुरमा संयुक्त अरब इमिरेट्ससँग तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो । सिरिजको उपाधि नेपालले २–१ ले जितेको थियो । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।

नेपाल टी–२० लिग मङ्सिर अन्तिममा

यस्तै शुक्रबार मात्रै मङ्सिर २६ देखि पुस १६ गतेसम्म हुने नेपाल टी–२० फ्रेन्चाइज लिगको नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा २० दिनसम्म सञ्चालन हुने उक्त लिगको उद्घाटन खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स तथा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
लिगमा बिराटनगर सुपर किंग्स र जनकपुर रोयल्स गरी ६ वटा फ्रोन्चाइज टोलीको सहभागिता रहने बताइएको छ । सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।