Loading

काठमाडौं, ४ मङ्सिर। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका छन्। आइतबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले अहिलेसम्म प्राप्त विवरणलाई हेर्दा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका छन्।

आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भने ६१ प्रतिशत मतदान भएको देखिएको छ। यो सङ्ख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’

उनले १५ स्थानमा मतदान हुन नसकेकोसमेत जानकारी दिए। निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले मतपत्र मत गणनास्थलमा पुर्‍याएपछि काठमाडौं उपत्यकामा आजै र अन्य ठाउँमा प्रक्रिया पूरा गरेर तत्काल गणना सुरु गर्न निर्देशन दिएको बताए । यसअघि थपलियाले मतपत्रहरु पुगेको दुइघण्टाभित्र मतगणना शुरु गर्ने र प्रत्यक्षतर्फको मतपरिणाम तीनदिन भित्र निकाली सक्ने जानकारी गराएका थिए । स्थगित भएका मतदान केन्द्रका कारण ती स्थानहरु रहेको निर्वाचन क्षेत्रमा पुन निर्वाचन भएपछि मात्र मतगणना हुने भएपनि अन्य स्थानमा तत्कालै मतगणना हुने अनुमान गरिएको छ ।