Loading

बाजुरामा गोली चल्दा १ को मृत्यू, दर्जनबढी घाइते

टीकापुर। प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनको मतदान क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज १५ ठाउँमा गोली चलेको छ ।
यद्यपी आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति भने हुन सकेन । निर्वाचन चलिरहँदा गोली समेत चलेका स्थानहरुमा मतदान नै स्थगित गरिएको छ ।
यसरी गोली चलेका स्थानहरुमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा, मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, रौतहटको गुजरा ४ रहेका छन् ।
यस्तै बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी ९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली चलेको हो । गण्डकी प्रदेशमा स्याङ्जाको चापाकोट नगरपालिका १ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ ।
यसैगरी कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा, सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली चलेको छ । बाजुरामा गोली चल १ जनाको मृत्यू र दर्जन बढी घाइते भएका छन् । यस्तै डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कूल १५ स्थानमा गोली चलेको छ । तैपनि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।