![]()
आज प्रतिनिधि सभाको निर्वाचन, जुन २००७ सालमा भएको जनआन्दोलन पछिको आठौं कार्यकाल र लोकतन्त्रपछिको दोस्रो कार्यकाल तथा प्रदेश सभाको दोस्रो कार्यकालका लागि मतदान प्रक्रिया शुरु भइरहेको छ । आजको मतदान प्रक्रियाबाट छानिने जनप्रतिनिधिहरुले संविधानतः आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्ने अवसर हो यो । तिनै प्रतिनिधिहरुले आगामी पाँच वर्षमा मुलुकका लागि काम गर्ने वा स्वार्थ समूहमा फसेर समय बिताउने भन्ने पनि आजकै निर्वाचनबाट छानिेहरुले गर्ने हो । त्यसैले हाम्रो नभई राम्रो र योग्य उम्मेद्वारलाई निर्वाचित गर्न सकेमा समाज, प्रदेश, देश र जनताका लागि आगामी पाँच वर्षमा रुनुपर्ने अवस्था आउने छैन ।आजको यस निर्वाचनले प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका १६५ र समानुपातिक तर्फका ११० गरी २७५ र ७ वटै प्रदेश सभाका प्रत्यक्ष तर्फका ३३० र समानुपातिक तर्फका २२० गरी ५५० सदस्यहरुको छिनोफानो गर्ने आज नै हो। आजकै दिनले मुलुकको आगामी दिनको पनि संकेत गर्नेछ। यतिबेला सबैको ध्यान मतदाताको विवेक प्रयोगमा छ। त्यसैले मतदातालाई शक्तिशाली ठानिने समयमा हामी आइपुगेका छौँ। त्यो शक्ति प्रयोगमा विवेक हाबी भयो भने हाम्रो आगामी दिनहरु पक्कै पनि सहज हुँदै जानेछन्।
यहाँ किसानले मल, वीज, सिचाई र उत्पादित वस्तुको बजार र उचित मूल्य नपाएर रुनु परेको छ । व्यापारीले व्यापार व्यवसायको निम्ति राज्यको नीति सही नहुँदा दोहोरो कर तिर्नु परेको अवस्था छ । कर्मचारीले समयमा उचित तलब र भत्ता नपाएको अवस्था छ, तोकादेशको भरमा अनावश्यउक नेताहरुका मान्छेलाई अस्थायी र करार नियुक्ति दिएर कर्मचारीतन्त्रमा भद्रगोल मच्चाइएको छ । लोकसेवा, शिक्षासेवा, सुरक्षा सेवा लगायतका विभिन्न आयोगहरुलाई स्वस्फूर्तरुपमा काम गर्न नदिई दबाब दिने गरेका तमाम उदाहरणहरु छन् । त्यसैले यस्ता तमाम खाले समस्याको पहिलो समाधान भनेको जनप्रतिनिधि सही हुनु पनि हो । यदि जनप्रतिनिधिहरु सही भएमा सही नीति आउँछ । सही नीति आएमा त्यसको कार्यान्वयन सही गर्ने र गराउने तह कार्यपालिका हो । उक्त कार्यपालिका पनि जनप्रतिनिधिहरुबाटै हुने भएकाले पहिलो कुरा जनप्रतिनिधिहरु नै सही हुन जरुरी हुन्छ । देश, प्रदेश, समाज र जनताको हीतका लागि परि आएमा पार्टीभन्दा माथि उठेर काम गर्न सक्नेहरु भएमा मात्र त्यो कुरा सम्भव छ ।
यसअघिका निर्वाचनमा विजयी भएर सदनमा केकस्तो काम गरेका छन् ? केकति जनताको हीतमा काम गरेका छन् ? सुरा सुन्दरी काण्ड केकति गरेका छन् ? देश र जनताको नाम लिदै परिवादको चंगुलमा फसी परिवार र आफन्तको हीतमा मात्र को लागेका छन् ? योग्य मान्छेलाई नभई पैसा खाएर अयोग्य मान्छेलाई विभिन्न स्थानमा मिलेमतोमा रोजगारी कस्ले दिलाएका छन् ? विकासका लागि बाँडफाट गरिने बजेट पारेको भन्दै कमिशन लिएका छन् कि छैनन् ? यस्ता तमाम खाले कामहरुको मूल्यांकन गर्ने बेला पनि यही हो । त्यसैले यसबेला हामी चुक्यौंभने फेरि पाँच वर्ष पछुताउनु पर्ने हुन्छ । त्यसैले पुनः पाँच वर्ष पछुताउनका लागि त्यस्ता उम्मेद्वारहरु जुनसुकै पार्टीका भएपनि मत दिनु हुँदैन । योग्य सबल र इमान्दार व्यक्तिलाई चयन गरेमा मात्र जनताका मुद्धा उठ्ने र जनहीतमा विधयेकहरु बन्ने, जनपक्षीय कामहरु हुने भएकाले हाम्रो मात्र नभई राम्रो मान्छे चुन्न जरुरी छ । आज हुने मतदानबाटै त्यस्ता खराब ब्यक्तिहरुलाई परास्त गरी योग्य र असल ब्यक्तिहरुलाई मतदान गर्न जरुरी छ ।
