Loading

टीकापुर/विगत तीन वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष कार्यक्रम गरिदै आएको ‘समकालीन साहित्य चौतारी’ नामक साहित्यिक संस्था काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भएको छ ।
शुक्रबार राति ८ बजे यस संस्थाका सचिव अलख निरञ्जन लोहारले सामाजिक सञ्जाल फेसबुकबाटै यस कुराको जानकारी गराएका हुन् । उनले आफ्नो फेसबुक आइडीमा संस्था दर्ता प्रमाण पत्र सहित केही संस्थाका सदस्यहरुको तस्वीर राख्दै उक्त कुराको सबैलाई जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमा पोष्ट गरे लगत्तै एकनजर डटकमलाई सचिव लोहारले जानकारी गराउदै विमला चन्द ‘सानु’ (बैतडी)को नेतृत्वमा संस्था गठन भएको जानकारी गराए । संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष प्रमोद ढकाल (बिराटनगर, मोरंग), सचिव अलख निरन्जन लोहार (टीकापुर, कैलाली), कोषाध्यक्ष सिर्जना नेपाल सुवेदी (इटहरी, सुनसरी) रहेका छन् । यसैगरी सदस्यहरुमा कुमारी चेम्जोङ्ग (झापा), तपेन्द्र मलाती (अछाम), ज्योति खवास (इटहरी, सुनसरी), शारदा भट्टराई (बिराटनगर, मोरंग) र बिरेन्द्र टमट्टा विवश (अछाम) रहेका छन् ।
एकनजरसंग भएको कुराकानीमा सचिव लोहारले सामाजिक सञ्जाल फेसबुकमा संस्थाका ६ हजार फलोअर्स भएको बताए । उनले २ हजार ५ सय लाइक र ५ सय बढी साहित्यिक सर्जकहरु लाइभ कार्यक्रममा जोडिएको बताए । हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म प्रत्यक्ष प्रसारण हुँदै आएको उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानमा रहेका नेपाली प्रवासीहरु र दार्जिलिंग, ुिसक्किम, आसाम लगायतका विभिन्न स्थानमा रहेका नेपाली भाषाी साििहत्यकर्मीहरु समेत सहभागी हुने गरेका छन् । दिनहु हजार बढी रचनाहरु अनलाइनमा प्रकाशन भइरहेको पनि उनले बताए ।
उनले समकालीन साहित्य चौतारी नेपालले विगत तीन वर्षदेखि नियमित रूपमा आधिकारिक “फेसबुक (मुआहारिका)बाट प्रत्यक्ष प्रसारणको माध्यमबाट नेपाली साहित्यमा कलम चलाउँदै आउनुभएका सर्जकहरूका सिर्जनाहरूलाई विश्वव्यापीकरण गर्न र नेपाली भाषा,कला र साहित्यलाई जगेर्ना गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिदै आएको बताए ।
सर्जकहरुका साहित्यिक सम्बन्धहरूलाई बलियो र सुदृढ बनाउने, एकापसका सम्मान मर्यादा र भाइचाराको साइनो(नाता)जीवित राख्ने अभिप्रायले कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस अभियानलाई अझै सुदृढ र अनन्तकालसम्म जीवित राख्न र कार्यक्रमहरूलाई अझै सशक्त बनाउने उद्देश्यले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको बताए ।
आसाम गुहाटीमा बसेर नियमित रूपमा नेपाली साहित्यको श्रीवृद्धिमा निःस्वार्थ सेवा गर्नुहुने पुरुषोत्तम उपाध्याय दाहालज्यूलाई सल्लाहकारको रुपमा धन्यवाद दिदै कार्यक्रमलाई भव्य र शालीन प्रस्तुति दिन आफ्नो अमूल्य समय प्रदाता सम्पूर्ण प्रस्तोताहरूलाई समेत धन्यवाद दिइएको छ ।
फेसबुकमा प्रसारित कार्यक्रमको ८०७ औं अंकसम्म आइपुग्नुमा सबै सर्जकहरुको मायँ, साथ, हौसला र अनवरत भइरहेको उल्लेख गर्दै त्यसैको प्रतिफलस्वरुप संस्था दर्ता हुन गएको बताइएको छ । त्यसमा अगाडि समकालीन साहित्यिक मन मुटुहरूसँग सहयात्रा गर्दै हाम्रा अनुजहरूकालागि एउटा विशाल साहित्यिक मञ्च उपलब्ध गराएर नेपाली भाषा साहित्यको सेवामा निःस्वार्थ र निरन्तर डटिरहनु हो भन्ने उल्लेख गरिएको छ ।
त्यसमा नेपाली भाषा साहित्यको सेवामा हातेमालो गरिरहनु भएका सर्जकहरूको सद्भाव मायाँ हौसला सान्निध्य पूर्ववत् प्राप्त भइराख्ने कुरामा विश्वस्त छौ भनिएको छ ।