Loading

आऊ हामी नयाँ पार्टी खोलौँ

आऊ हामी नयाँ पार्टी खोलौँ
बाहिर सही भित्र झुुटो बोलौँ
कस्ले नै यहाँ सही गलत छुट्याउन सक्छ र ?
जनता सबै भेडा बनाऔँ
केवल आप्mनो घरबार बनाऔँँ
पहिले पो हाम्रो औकात थिएन
केक काटौं र खुसियाली मनाऔँ ।
म पार्टीको अध्यक्ष, श्रीमती उपाध्यक्ष
दाइ संरक्षक र भाइ वरिष्ठ उपाध्यक्ष
छोरो महासचिव बुहारी उपमहासचिव
भतिजो सचिव र भतिजी कोषाध्यक्ष
आउ हामी पार्टी खोलौँ
सही भन्दै झुटो बोलौँ ।

 

यो लोकतन्त्रमा जे गरे नि हुन्छ
श्रीमान श्रीमती सबै साँसद बन्न पाइन्छ
पालैपालो मन्त्री बन्न पाइन्छ
मौका परे प्रधानमन्त्री बन्न पाइन्छ
यहाँ तालमेल पनि हुन्छ, गठबन्धन हुन्छ
यस्तै भइरहने संविधान बनाएका छौँ
हामी नभई नहुने प्रावधान गराएका छौँ
त्यसैले सधैँ सत्ता हाम्रै हातमा हुने
उल्लु जनता साथमा हुने
यस्तो परिपार्टी बनाएका छौँ,
सधैँ खुसयाली मनाएका छौँ
आऊ हामी नयाँ पार्टी खोलौँ
बाहिर सही भित्र झुुटो बोलौँ ।

 

कसैलाई जातका नाममा लडाऔँ
कसैलाई भातका नाममा लडाऔँ
लडने नेपालीको रगतमा नै छ
हामीलाई फाइदा लडाईमा नै छ
आज लडाऔँ भोलि लडाऔ
उनीहरुलाई सधैँ लडाऔँ
जबसम्म उनीहरु लडिरहनेछन्
तबसम्म सत्तामा हाम्रा खुट्टा अडिरहनेछन्
आऊ हामी नयाँ पार्टी खोलौँ
बाहिर सही भित्र झुुटो बोलौँ ।

 

मार्नेहरु मार्न दिऔँ, हार्नेहरु हार्न दिऔँ
मान्नेहरु मान्न दिऔँ तान्नेहरु तान्न दिऔँ
तल उनीहरुलाई लडाई राखौँ
माथि हामीहरु मिली राखौँ
किनकि,
सत्ताका लागि गठबन्धन चाहिन्छ
भत्ताका लागि तालमेल चाहिन्छ
कसैले सोधे भनिदिऔँ
प्रेम, युद्ध र राजनीतिमा जे पनि जायज हुन्छ
उनीहरुका आप्mनै पनि सिध्याउन लगाऔँ
उनीहरुलाई एक्लाएक्लै पारौँ
तब पो हाम्रा दास भइरहन्छन्
तर, हाम्रा सबैलाई जोगाई राखौँ
सत्ता चलाउँदा केवल आफ्नैै चाहिन्छन्
आऊ हामी नयाँ पार्टी खोलौँ
बाहिर सही भित्र झुुटो बोलौँ ।

 

उहिलेका कुरा खुइलिएर गए
उनीहरुसँगै सबैले भुलेर गए
सकिने भए देश बेचौँ, भेष बेचौँ
भाषा बेचौँ, संस्कृति बेचौँ
धर्म, इमान संस्कार बेचौँ
हामीलाई चाहिएको पैसा नै हो
पैसा पाए आपूmबाहेक सबै बेचौँ
कम पाए भाडामा भए नि बेचौँ
पद पैसा नै सब थोक हो
यी दुवै नभए को हो को हो
त्यसैले
आऊ हामी नयाँ पार्टी खोलौँ
बाहिर सही र भित्र झुुटो बोलौँ

 

हाम्रो बिरुद्ध बोल्नेलाई मारी दिऔँ
मार्न पनि नसके एक्लो पारी दिऔँ
मुख खोले मुख फोडौँ, औला देखाए औँला तोडौँ
विरोध गर्ने कसैलाई नछोडौँ
उस्लाई ठेगान लगाऔँ, पार्टीबाट भगाऔँ
केवल दासहरुको मात्र जमात बढाऔँ
तब सधैँ हामी नै पार्टीमा हुने
तब हामी सधैँ सत्तामा हुने
यस्तो महान तथा कौरवशाली पार्टी बनाऔँ
परिवारका पदहरु आजीवन बनाऔँ
आऊ हामी नयाँ पार्टी खोलौँ
बाहिर सही भित्र झुुटो बोलौँ

 

डीपी दर्शन (टीकापुर, कैलाली)