Loading

टिकापुर/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा टिकापुरमा आयोजित वृहत साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

देवकोटा साहित्य कला परिवार टिकापुर, टिकापुर सामुदायिक पुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य सङ्गीत कला प्रतिष्ठान टिकापुरको सँयुक्त आयोजनामा सोमबार पुस्तकालयको हलमा भएको यस कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरुले कविता तथा गीत वाचन गरेका थिए।

यसरी वाचन गर्ने कविहरुमा गोरखापत्र संस्थानका सञ्चालक समितिका पूर्व सदस्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका संस्थापक उपाध्यक्ष वरिष्ठ सञ्चारकर्मी दुर्गाप्रसाद भण्डारी (डीपी दर्शन), मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय क्याम्पस सुर्खेतका उपप्राध्यापक किर्ति जोशी, सन्त निरंकारी माविका अध्यापक कान्तिप्रसाद ज्ञवाली, साहित्यकार धनञ्जय तिमिल्सैना, नाइजेरियामा प्राध्यापनरत प्राध्यापक हिक्मत थापा, वीरेन्द्र विद्या मन्दिरका प्राचार्य फणेन्द्रराज रेग्मी, देसाकका अध्यक्ष बलबहादुर रावल, युवा स्रष्टा राजन रेग्मी, पूर्व अध्यापक नरबहादुर थापा, युवा व्यवसायी बलबहादुर बिष्ट, पूर्व अध्यापक कण्ठराज गिरी, वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चक्रप्रसाद अधिकारी, रामप्रसाद रिमाल, आनन्दबिक्रम राणा, अध्यापक खगेन्द्र प्रसाद उपाध्याय, अध्यापक कैलाश वियोगी, बाबु देवकोटा, अटल उपेन्द्र, मदन प्यासी, दीपक सँगम, तेजबहादुर तिरुवा, देवानन्द रिमाल लगायत रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्टिय योजना आयोगका पूर्व सदस्य डा. जनक बहादुर शाह, विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश राष्टिय योजना आयोगका सदस्य प्रा.डा. जगतबहादुर सिंह रावल लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले यस्ता साहित्यिक कार्यक्रम साप्ताहिक, पाक्षिक र मासिक रुपमा भइरहनु पर्ने बताए । डा. शाहले साहित्य भान्सा र राजनीीत शौचालय भएको एक प्रसँग सुनाए भने डा. रावलले रचनाले कसै न कसैको भावनालाई समेट्नु पर्ने बताए । कार्यक्रममा छापामारको छोरो कृतिका लेखक तथा मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाहको समेत उपस्थिति रहेको थियो । 

 

टिकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भइरहेको यस कार्यक्रममा सञ्चालन सचिव देवेन्द्र बहादुर शाह र स्वागत मन्तव्य सुदूरपश्चिमाञ्चल साहित्य सङ्गीत कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमाल र धन्यवाद देवकोटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावलले गरेका थिए ।