![]()
टीकापुर/आगामी मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि कैलाली जिल्लामा अन्तिममा एकसय २६ जनाको उम्मेद्वारी कायम भएको छ ।
कायम भएका उम्मेद्वारमा प्रतिनिधि सभामा एकमात्र नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार लक्ष्मण थारुको उम्मेद्वारी खारेज भएको छ भने अन्य कुनै उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छैनन् ।
तर, प्रदेश सभातर्फ भने १६ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएपछि ७८ जना कायम भएका हुन् । सुदूरपश्चिम निर्वाचन कार्यालय धनगढीका अनुसार फिर्ता लिनेमा बढीजसो नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका बागी उम्मेद्वारहरु छन् ।
फिर्ता लिनेमा प्रदेश १ ‘क’ मा माओवादीका बिद्रोही उम्मेद्वार ओजारीलाल चौधरी, प्रदेश सभा १ ‘ख’ मा नेकपा एकीकृत समाजवादीका दिर्घराज जैसी, क्षेत्र नं २ ‘क’ मा नेकपा एकीकृत समाजवादीका मङ्गलबहादुर साउँद र स्वतन्त्र उम्मेदवार बृखबहादुर महता र २ ‘ख’ मा स्वतन्त्र उम्मेदवार कमलप्रसाद खनाल र भीमबहादुर कुँवर रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर ३ ‘क’ मा माओवादी केन्द्रका छोटेलाल चौधरी, नेपाली काँग्रेसका रामचरण चौधरी र ३ ‘ख’ मा मनराज शाही, पूणर्राज जोशी, खगेन्द्रबहादुर हमाल, मेघबहादुर साउँद रहेका छन् ।
यस्तै क्षेत्र ४ ‘क’ मा नेपाली काँग्रेसका नेता टिकादत्त जोशी, राजेन्द्रप्रसाद जोशी, टेकबहादुर देउवा, खुशीराम चौधरी, तुलाराम सापकोटा र ४ ‘ख’ मा स्वतन्त्र उम्मेदवार टीकादत्त जोशी तथा क्षेत्र नं ५ ‘क’ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बृखबहादुर दमाई रहेका छन् । अन्य कुनैपनि उम्मेद्वारहरुले फिर्ता लगेका छैनन् ।
प्रतिनिधि सभाका उम्मेद्वारहरु
कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँगे्रसका रामजनम चौधरी, नेकपा एमालेका तपेन्द्रबहादर रावल, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ लगायतका नौ दल र दुई स्वतन्त्र गरी ११ जनाको उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर २ मा नेकपा एमालेका झपटबहादुर रावल, नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल, नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी लगायत नौ वटा दलको उम्मेदवारी कायम रहेको छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेका गौरीशंकर चौधरी, माओवादी केन्द्रका कृष्णकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी लगायत छ दल र दुई जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ ।
यस्तै, क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्ट, नेपाली काँगे्रसका बीरबहादुर बलायर, नागरिक उन्मुक्तिका कैयाँ चौधरी लगायत नौ दलका उम्मेदवार र एक जना स्वतन्त्रको उम्मेदवारी रहेको छ ।
क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नारदमूनि राना, नेपाली काँगे्रसका डिल्लीराज पन्तसहित पाँच दल र स्वतन्त्र उम्मेद्वार पूर्वमन्त्री पुष्करनाथ ओझा सहित पाँच जनाको उम्मेदवारी रहेको छ । कैलाली मा पाँचलाख ३५ हजार ५१४ मतदाता रहेका छन् ।
