![]()
डीपी दर्शन/ हरेक घर आँगनमा संविधान दिवसको रौनक लागिरहेको बेला अनायसै आएको अविरल वर्षाले विपत्ति ल्याइदिएको छ । यस वर्षमा शुरुदेखि नै यति लामो वर्षा र झरी खसेको थिएन । तर एक्कासी तीन दिनदेखि अविरलरुपमा आएको वर्षाले तराई जलमग्न र पहाड पहिरोले आक्रान्त बनाएको छ । केही दिन पहिले मात्र सुदूरपश्चिमको दार्चुलामा नदी कटान र पहिरोले जनधनको क्षति पु¥याएको साता दिनमै फेरि अर्को घटना हुन पुगेको छ ।
अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरो जाँदा धेरैको ज्यान गएको छ । जनधनको क्षतिसँगै कतिपय घरबार बिहीन भएका छन् । रातीसुतेका मानिसहरु बिहानी हेर्न नपाउँदै पहिरोमा पुरिन बाध्य भएका छन् । घरहरु नै पहिरोमा परेपछि पशु चौपायादेखि जीवनमा कमाई गरेको सबै सम्पति समेत स्वाहा भएको छ । पहाड पहिरो र तराई डुबानमा परेपछि पहाडबाट तराई बसाई सरेकाहरु झन मारमा परेका छन् । यस्तै बेहाल सुकुम्वासीहरुका पनि छन् ।
यस्तै सुदूरपश्चिमी तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका अधिकांश स्थान जलमग्न भएका छन् । केही स्थानहरु वर्षाको पानीले त केही स्थानहरु स्थानीय नदीनालाहरुमा आएको बाढीका कारण डुबानमा परेर धनजनको क्षति भएको छ । हरेक वर्ष भइरहने यस्ता दैवीय बिपत्तिलेकैयाँै मानिसहरुलाई घर न घाटको अवस्थामा ल्याई पु¥याएको छ । तराईमा डुबान क्षेत्रको समयमै पहिचान गरी बस्ती स्थानान्तरण गर्न सकेमा मात्र यसको केही समाधान निस्कने छ । यस्तै पहाडमा पनि जोखिमपूर्ण सम्भावना देखिएका ठाउँहरुका बस्ती सुरक्षित स्थानमा सार्न आवश्यक छ ।
