Loading

 

जन्ताको घरमा बसेर पहिले गर्थे थरी बात ती ।
बिर्से आज यहाँ कुरा जतिगरे ऐले दिँदा साथ ती ।
कोही हुन्न गरीब हेर सब लौ हुन्छन् धनी भन्दथे ।
देऊ साथ यहाँ सबैजन मिली यस्तै कुरा गर्दथे ।

 

विश्वासै दिइ लौ यसै तरहका युद्धै जिते धेर ती ।
सत्तामा जब ती पुगे भुलिगए वाचा गरेका जति ।
मन्दिरै पनि धेर भत्किन गए द्यौता हुँदैनन् भने ।
द्यौता आज बने यहाँ उनिहरु आफै बिलुप्तै हुने ।

 

जन्ताका विचमा यहाँ त नबसी बस्छन् दलालै कहाँ ।
सामान्यै जनबाट बन्न ल पुगे ठूला ती ठालु यहाँ ।
यौटै वर्ग थियो ल हेर पहिले हामी सबैको यहाँ ।
ऐल्हे हेर ल भिन्न भिन्न हुनगो तिन्को र हाम्रो यहाँ ।

 

विश्वैमा त हुनेछ एक अब लौ त्यो मान्छे जाति यहाँ ।
भन्थे ती पहिले कता अबगयो त्यो बोलि तिन्को यहाँ ।
कस्ता चंगुलमा फसेर अहिले बन्दैछ उल्टो मति ।
स्वार्थी बन्न पुगे यिनीहरु समेत् धेरै गराई क्षति ।

 

सत्यै बोल्न यहाँ सकेन अहिले जो आश लाग्ने थियो ।
बिक्री नै हुनगो ऊ हेर अहिले निस्वार्थ छोडि दियो ।
यस्ता यी खहरे जतातिर बगे विध्वँश नै गर्दछन् ।
बस्तीनै सब त्यो सखाप क्षणमै गर्दै अनि झर्दछन् ।

 

बाढी त्यो त हुँदैन कत्तिपनि लौ है क्रान्तिकारी यहाँ ।
छद्य्मै भेष गरेर पस्छ घरमा विध्वँश गर्नै यहाँ ।
त्यस्तै मानिसको स्वभाव हुनगो ऐल्हे यहाँ हेर लौ ।
विश्वासै अब गर्नु हुन्न सबले भैगो यहाँ बेर लौ ।

 

डीपी दर्शन (२०७९ भदौ २८ गते बिहान ११ बजे)