Loading

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपाल समुह बि बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो ।

नेपालका लागि खेलको १०औं मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ११औं मिनेटमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् । त्यस्तै नेपालका लागि तेस्रो गोल खेलको १७औं मिनेटमा अमृता जैसीले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपा शाहीले नेपालका लागि चौथो गोल गरेकी थिइन् । नेपालका लागि पाँचौं र छैटौं गोल अमिषा कार्कीले गरेकी थिइन् ।

आजको खेलमा नेपालकी सावित्रा भन्डारी डेंगु संक्रमणका कारण खेलमा अनुपस्थित रहेकी थिइन् । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले जित हासिल गरेको थियो । त्यस्तै भुटानले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।

समुह बि बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै समुह ए बाटभारत र बंगलादेश अन्तिम खेल अघि नै सेमिफाइनलमा पुगिसकेका छन् । समुह ए को अन्तिम खेल मंगलबार हुने छ र यसै खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । यस खेलपछि नै नेपालसँग सेमिफाइनलमा कुन टिम सँग खेल्ने भन्ने टुंगो लाग्ने छ ।