![]()
महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरिन् । महारानीको एलिजाबेथको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर पनि गरिन् ।
यसैगरी प्रधानमन्त्री देउवाले पनि महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै उनले दुईपटक गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका छन् ।
‘उहाँको निधनको खबर सुन्दा धेरै दुःख लागेको छ,’ प्रधानमन्त्री देउवाले ट्विटरमा ट्विट गरेका छन्, ‘सन् १९६१ र सन् १९८६ मा उहाँले गरेको दुई महत्वपूर्ण राजकीय भ्रमणका लागि महारानीलाई नेपालमा सम्झिइन्छ । उहाँको निधनले नेपालले देश र जनताको एक महान प्रशंसक गुमाएको छ ।’ प्रधानमन्त्री देउवाले बेलायती राजपरिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महारानी एलिजाबेथको निधनको खबरले दुःखी बनाएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा. फणिराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना पनि प्रकट गरेका छन् । सात दशक राजगद्दीमा बसेरे शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको तथा नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् ।
महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा स्कटल्यान्डको वालमोरलमा निधन भएको हो । महारानी एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् ।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्नेमा एलिजाबेथको नाम पहिलो नम्बरमा आउँछ । उनले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । उनी सन् १९५२ मा बेलायतको महारानी बनेकी थिइन् । उनको आफ्नो शासनकालमा बेलायतमा व्यापक सामाजिक परिवर्तन आएको थियो ।
एलिजाबेथले आफ्नो कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री देखेकी थिइन् । सबैभन्दा पहिला उनले सन् १८७४ मा जन्मेका तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलसँग काम गरेकी थिइन् । पछिल्लोपटक उनले चर्चिल जन्मेको १ सय १ वर्षपछि जन्मेकी अर्थात सन् १९७५ मा जन्मेकी लिज ट्रसलाई प्रधानमन्त्रीको रूपमा देखेकी थिइन् ।
एलिजाबेथको जन्मको सन् १९२६ अप्रिल २१ तारिखमा लनडनमा भएको थियो । उनको जन्मको नाम एलिजाबेथ एलेक्सान्ड्रा मैरी विन्डसर हो । बिहीबार एलिजाबेथको स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्यान्डस्थित निवासमा भेला भएका थिए । पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।
यसैबीच, महारानी एलिजाबेथको निधनपछि उनका जेठा छोरा चाल्र्स राजा बनेका छन् । ७३ वर्षीय चाल्र्स प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी थिए ।
चाल्र्स कुनै औपचारिक समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् । आमाको निधनपछि अब चाल्र्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्रमण्डलीय देशहरूको राष्ट्र प्रमुखका रूपमा शोक मनाउनेछन् ।

साभार : सौर्य अनलाइनडटकम

