![]()
टीकापुर, २३ साउन/ टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि सोमबार दुई प्यानलबाट २३ जनाको उम्मेद्वारी परेको छ ।
यसरी उम्म्ेद्वारी दर्ता गर्नेमा सो संस्थाका सचिव नरेशकुमार खत्री र टीकापुर नगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकी रहेका छन् ।
खत्री समूहबाट उपाध्यक्षमा भने सृजना शर्मा पण्डित, सचिवमा चक्र तिमिल्सिना र कोषाध्यक्षमा विश्राम थारुले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा खुलातर्फ खडक धामी, भानुभक्त जैसी र राजेशकुमार चौधरी रहेका छन् भने महिला सदस्यमा कृष्णीदेवी चौधरी र सरिता थापा रावल रहेका छन् ।
त्यस्तै बुढाथाकी समूहबाट सचिवमा मनिष बलायर र कोषाध्यक्षमा हिरासिँह बिष्ट र मोतिसिँह खत्रीको समेत उम्मेद्वारी परेको छ । अन्य सदस्यहरुमा खुलातर्फ नवराज ठकुल्ला, पञ्चराम डंगौंरा, मञ्जित रावल र महिलातर्फ चन्दावती शर्मा र निर्मलाकुमारी थरुनी रहेका छन् । दुवै समूहबाट उपाध्यक्षमा सिर्जना पण्डितलाई सर्मथन भएपछि उनी निर्विरोध निर्वाचित भएकी छन् ।
खुलातर्फ तीनजना सदस्यका लागि ११ जना र दुई जना महिला सदस्यका लागि ४ जनाको उम्मेद्वारी परेको छ । यस्तै खुल्ला सदस्यमा स्वतन्त्रतर्फ लागि दिर्घराज जैशी, देविन्द्र बहादुर रावल, प्रकाश खत्री, बमबहादुर ओली र सुरेश शर्मा रहेका छन् ।
संस्थाको नेतृत्व चयनका लागि यही साउन २६ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ । संस्थाका साधारण सदस्यहरु ५ हजार ३ सय २५ जनाले नयाँ कार्य समिति निर्वाचनका लागि मतदान गर्ने भएका छन् । समितिका अनुसार २३ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने र साउन २६ गते मतदान हुनेछ । कार्यसमिति आगामी तीन वर्षका लागि निर्वाचित हुनेछ ।
टीकापुर नगरपालिकाका वडा नं. १ देखि ५ सम्मका ७ हजार ४०६ घरधुरीमा खानेपानी सेवा पुर्याएको यो संस्था २०६७ सालमा स्थापना भएको हो । केही पूर्व पदाधिकारीले लाखौं रुपैयाँ लिएर नतिरेको तर उपभोक्ताहरुलाई सदस्यका लागि रकम बढाएको कुरा संस्थाकै कर्मचारीहरुले बताउने गरेका छन् ।
कवरब ५४ करोडको लागतमा सम्पन्न उक्त खानेपानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र उपभोक्ताको ५ प्रतिशत लागत रहेको छ । चारवटा ओभर हेड ट्यांकी रहेका छन् । ती ट्यांकीहरुबाट दैनिक ४५ हजार लिटर पानी प्रवाह हुँदै आएको छ ।
