Loading

फुल्छन् फूल गुलाफ नित्य जसरी,फुल्दै म बास्ना छरूँ,
मान्छेका मनभित्र पौडिन सकूँ, उत्साह सारा भरूँ,
डाँफे कालिजका उडान जसरी, पाखा पखेरी घुमूँ,
मेलापात घना पहाड वनका, डाँडा र काँडा चुमूँ ।।

भर्दै श्वास नितान्त स्वच्छ मनको, भाखा गरूँ सिर्जन,
आओस् गर्भितसाथ मौलिकपना, हाँसो खुलेको मन,
फेवाताल समान चित्र हिमको, पोतेर आत्मा भरी,
यो नेपाल म देखूँ कञ्चन सदा, च्यापेर नाँच्ने गरी ।।

मिथ्या तोड्न सकूँ बिभाजन हुने,आफ्नाहरू छन् जति,
धर्ती भित्र सुगन्ध पाउँछु खुबै, फल्छन् सुधा ओखती,
फालौँ स्वार्थ बिचार हीन मतिका, जागौँ बचाऔँ धरा,
त्यागौँ ती सब भेदभाव अब ता, पारौँ यहीँ उर्वरा ।।

राखौँ चेतन राष्ट्रको हित हुने, सद्भावना सिञ्चन,
वैरीसामु सधैँ उँभो शिर हुने, पुर्खा जसै कञ्चन,
सोचौँ देश निमित्त सक्षम युवा, यो देशका खाँतिर,
रोपौँ उन्नत ती बुटी सतहमा , सम्याई ठाडो भिर ।।

पुर्खाको इतिहास सिर्जन कला, साँचेर राखौँ सब,
हामी एक बने सधैँ भुवनमा, नेपाल बच्ला तब,
जे जे मिल्छ अनन्त सार महिमा, नेपालमै पाउँला,
यस्तो सुन्दर भूमि साथ नरहे, अन्तै कहाँ जाउँला ।।

                                                        छन्द : शार्दूलविक्रीडित

 अलख निरञ्जन लोहार, टीकापुर, कैलाली (हाल: भारत)