![]()
कास्की | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दावी गरेका छन् ।
मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलार्ई देशैभर थप स्थापित गर्नेसमेत बताए । संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिए । उनले भने, ‘गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला । जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ ।’
गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उनले उल्लेख गरे ।
सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष ताजमहमद मियाँलगायतले मुस्लिम समुदायको हक-अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताए ।
