![]()
काठमाडौं । युक्रेनमाथि रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेको केही समयमा नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको युक्रेनका शीर्ष गुप्तचर अधिकारीले बताएका छन्।
सोमबार एक अन्तवार्ताको क्रममा युक्रेनी गुप्तचर संस्थाका प्रमुख किरिलो बुडानोभले पुटिनको हत्याको प्रयास भएको बताएका हुन्। उनका अनुसार यो प्रयास गत मार्च महिनामा भएको थियो।
उनले भने, ‘पुटिनको हत्याको प्रयास भएको थियो। उनीमाथि आक्रमण पनि भएको थियो।’ यद्यपि उक्त आक्रमण असफल भएको थियो। यो आक्रमण गुपचुप राखिएको बुडानोभले बताए। उनको दाबी स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
बुडानोभका अनुसार पुटिनको हत्याको प्रयासमा युक्रेनको भने कुनै हात थिएन। युक्रेनका अर्का एक सरकारी अधिकारीले पनि बुडानोभको अभिव्यक्ति टेलिग्राम प्रोफाइलमा शेयर गरेका छन्। बुडानोभले यस वर्षको अन्तिमसम्मा रुसको नेतृत्व परिवर्तन हुन सक्ने सम्भावना रहेको बताएका छन्।
