![]()
टीकापुर/टीकापुर नगरपालिका वडा नं ७, ८ र ९ का नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधबार पदभार ग्रहण गरेका छन् ।
यसरी पदभार ग्रहण गर्ने जनप्रतिनिधिहरुका टीकापुर नगरपालिका वडा नं ७ का नवनिर्वाचित वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, सदस्यहरु राजकुमार चौधरी, अभिमन्यू चौधरी, महिला सदस्य कैलाशपति चौधरी र दलित महिला सदस्य आइतीदेवी चौधरी रहेका छन् । उनीहरुलाई वडा कार्यालयका कर्मचारीले स्वागत गर्दै पदभार ग्रहण गराएका हुन् ।

यस्तै वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, सदस्यहरु पहले साउँद, राजुप्रसाद चौधरी, महिला सदस्य निशादेवी चौधरी र महिला दलित सदस्य संगिता बि.क. ओडले पनि बुधबार नै कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनीहरुलाई पनि वडा नं ८ कार्यालयका सचिव मटराम चौधरी सहितका कर्मचारीहरुले स्वागत गरेका हुन् ।
बटनपुरस्थित ८ नं वडा कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष ठकुल्लाले यसअघि पनि जनताकै चाहना बमोजिम काम गरेकाले वडावासी जनताले पुन काम गर्न पठाएको हुँदा बिगतमा रहेका अधुरा कामहरु पूरा गर्न आप्mनो टीम लागि पर्ने बताए । उनले निर्वाचित भइसकेपछि कसैमाथि भेदभाव नगरिँने प्रतिवद्धता जनाए ।

यसैगरी वडा नं ९ को कार्यालय झुंगामा पनि वडाध्यक्ष लौटन चौधरी, सदस्यहरु भरत साउँद, किरण चौधरी, महिला सदस्य लाली डगौंरा र महिला दलित सदस्य दिलु कामीले पनि बुधबार नै वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वडा सचिव लोकबहादुर बुढा सहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

जनप्रतिनिधिहरुको तर्फबाट वडाध्यक्ष चौधरीले यसअघि आपूmहरु विभिन्न पार्टीबाट निर्वाचिन लडेपनि निर्वाचित भइसकेपछि सबै वडावासी जनताको प्रतिनिधि भएकाले आगामी दिनमा कसैमाथि भेदभाव नगरी सबैको सेवामा लागिरहने बताए । उनले पार्टीको तर्फबाट पनि अन्य उम्मेद्वारहरुलाई ससम्मानपूर्ण व्यवहार गर्न आग्रह गर्दै आपूmले महत्वाकांक्षी कुरा नबोली गर्न सकिने जति जनताको काम गर्ने बताए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका भारत प्रवास समिति अध्यक्ष शेरमणि भण्डारी, नेकपा माओवादी प्रदेश समिति सदस्य सुरेन्द्र देवकर, सञ्चारकर्मी दुर्गाप्रसाद भण्डारी लगायतले बधाई दिँदै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
यस्तै ७ नं वडा कार्यालय सत्तिमा नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा पदभार ग्रहणपछि बधाई तथा शुभकामना कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा वक्ताहरु नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम सहइन्चार्ज हेमराज भट्टराई, जनता समाजवादी पार्टीबाट मेयरका उम्मेद्वार धर्मबहादुर घर्तीमगर, नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेद्वार हरिकुमार कार्की, नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार नरेश्वर धमाला, मनिराम ढुंगाना, लगायतले बधाई दिदै कार्यकाल सफलताको कामना ब्यक्त गरेका थिए ।
वक्ताहरु सबैले निर्वाचित भइसकेपछि जनताका कामलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । मेरो र तेरो जाति वा पार्टीको भावना कसैमा नआई समग्र वडा र वडावासीको हीतमा काम गर्न आग्रह गरेका थिए । बाढी, सडक, शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गर्न र सबैको सहयोग र साथ लिन आग्रह गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष न्यौपानेले आपूm सबै वडावासीको प्रतिनिधि भइसकेकोले सबैसँग समान ब्यवहार रहने बताए । उनले जनताले निर्वाचित गरेका आपूmहरु सबै यही वडाको भूगोलमा जन्मेको र हुर्केकोले यहाँका हरेक समस्यासँग परिचित रहेको बताए । राम्रो कार्यका साथ दिन र गलत कार्यमा तत्काल सल्लाह र सुझाव दिन समेत आग्रह गरे ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित ७, ८ र ९ का वडाध्यक्षहरुमा ८ का ठकुल्ला र ९ का चौधरी टीम सहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने वडा नं ७ का न्यौपाने पहिलोपल्ट निर्वाचित भएका हुन् । यद्यपी वडा नं ७ पनि यसअघि माओवादी केन्द्रले नै जितेको थियो । निवर्तमान वडाध्यक्ष रामलाल चौधरी पार्टी परिवर्तन गरी नागरिक उन्मुक्ती पार्टीबाट टीकापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेका छन् ।
