![]()
काठमाण्डौ । काजकिस्तानमा भइरहेको विरोध प्रदर्शन र हिंसाका बीच त्यहाँको सरकारले सेनालाई ‘विना चेतावनी गोल चलाउन’ आदेश दिएको बीबीसीले जनाएको छ ।
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएबले अल्माटी सहरमा ‘२० हजारको सङ्ख्यामा रहेका विरोधी प्रदर्शनकारी’ ले आक्रमण गरेको बताइएको छ । अल्माटी सहर बढिरहेको तेलको मूल्यको विरोधमा भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र हो ।
राष्ट्रपति तोकाएबले यस हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरू’ जिम्मेवार भएको दाबी गरेका छन् । यद्यपि उनले यो दाबीको बारेमा कुनै स्पष्ट बताएका छैनन् ।
यसैबीच काजकिस्तानको अनुरोधमा रुसको नेतृत्वमा रहेको सेना काजकिस्तान पुगेको छ । काजकिस्तानको गृह मन्त्रालयले २६ सशस्त्र अपराधीलाई मारिएको र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएका बताएको छ । त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यद्यपि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द रहेको र निकै कम जानकारी सार्वजनिक भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूरै देशमा ७० चेक प्वाइन्ट्स राखिएको छ । काजकिस्तानमा तेलको मूल्यमा भएको वृद्धिको विरोधमा प्रदर्शनको क्रममा हिंसा बढेको हो ।
यो अवस्थालाई लिएर अमेरिका, बेलायत, फ्रान्सका साथै संयुक्त राष्ट्रले पनि सबै पक्षलाई संयम रहन अपिल गरेको छ ।
