![]()
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना सकिएको छ । प्राप्त मतपरिणाम अनुसार डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् भने एन पी साउँद दोस्रो बढी मत पाउनेमा दर्ज भएका छन् ।
खुल्ला केन्द्रीय सदस्यतर्फको ३५ जनामध्ये डा. शशांकले ३८३६ मत र साउँदले २९३७ मत ल्याएका हुन् । सभापतिमा उठ्ने प्रचार गर्दै आएकोमा डा. कोइराला अन्तिममा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिएभने सभापति बाहेक जुनसुकै पदमा उम्मेदार बन्छटु भनेका साउँद पनि अन्तमा खुला केन्द्रीय सदस्य नै लडेका थिए । कोइरालालाईसबै पक्षबाट आआफ्नो लिस्टमा राखिएको थियो ।
यसैगरी लोकप्रिय मत बालकृष्ण खाणले २८७९, उदयशमशेर राणाले २८४३, रामहरी खतिवडा २८३२, ज्ञानेन्द्रबहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८, जिपछिरिङ लामा २७०२, अर्जुननरसिंह केसीले २६५० मत पाएका छन्।
देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसपटक देउवा पक्षले ७१ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य जितेको छ । देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।
यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् । यता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणना केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए। तत्कालीन पौडेल समूहले १३ औं महाधिवेशन २५ जना मध्ये ११ जना केन्द्रीय सदस्य जितेको थियो । देउवा समूहबाट त्यतिबेला केन्द्रीय सदस्यमा चुनाव जितेका मध्ये १४ जना थिए । तर अहिले ३५ जना खुला केन्द्रीय सदस्य आउँदा पनि कोइराला समूह १० जनामै सीमित भएको छ ।
यस्तै महिलातर्फ खुला केन्द्रीय सदस्यहरुको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । डिला संग्रौलाले सबैभन्दा बढी मत ल्याएर विजय हासिल गरेकी छन् भने पुष्पा भुसालले दोस्रो बढी मत पाएकी छन् । त्यस्तै, आरजु राणा देउवाले तेस्रो मतसाथ केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन् ।
त्यस्तै, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमति शाही पनि खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । खुलातर्फ ३० उम्मेदवार प्रतिष्पर्धामा भएकामा ९ ले विजय हासिल गरेका हुन्।


